काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रवार (आज) सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित निर्धन भवनमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा कम्पनीका सञ्चालक समिति अध्यक्ष हरि कृष्ण पन्तले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा शेयरधनीहरू डम्बरु वल्लभ घिमिरे, निरुपमा गुप्ता, गोविन्द के.सी, सुदीप श्रेष्ठ र सत्रुघ्न श्रेष्ठले आफ्नो राय सुझाव पेस गरेका थिए ।
साधारण सभाले सामान्य प्रस्तावतर्फ आव २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
सभाले लघुवित्तको बाह्य लेखापरीक्षणको लागि A.Nepal & Associates Chartered Accountantsलाई नियुक्त गरेको छ ।
स्थापनाकालदेखि राम्रै प्रतिफल दिँदै आएको यस लघुवित्तले यो वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । लघुवित्तले गत वर्ष आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिएको थियो । यस्तै, आव २०७७/७८ मा भने शेयरधनीलाई ३० प्रतिशत लाभांश दिएको थियो ।
शेयरधनी सत्रुघ्न श्रेष्ठले ऋणीहरूमा ऋण तिर्नुपर्दैन भन्ने भ्रम छरिँदा असुलीमा प्रभाव परी निष्क्रिय कर्जा बढेकाले अवस्था चुनौतीपूर्ण रहेको बताए । जसले गर्दा संस्थाको नाफामा ७० प्रतिशतले ह्रास आएको उनको भनाइ छ । लघुवित्तमा चुनौती थपिँदा पनि यसप्रति राज्य मुकदर्शक भएर बसेको उनको आरोप छ । लघुवित्तले यस वर्ष लाभांश दिन नसके पनि आगामी वर्ष कम्तीमा १० प्रतिशत लाभांश दिने अपेक्षा व्यक्त गरे । उनले लघुवित्तले ऋण असुलीमा जोड दिनुपर्ने सुझाव दिए ।
शेयरधनी निरुपमा गुप्ताले अहिलेको क्रिटिकल अवस्थाका कारण निष्क्रिय कर्जा धेरै भएकाले यसलाई घटाउनतर्फ लाग्नुपर्ने सुझाए । अर्का शेयरधनी डम्बरु बल्लभ घिमिरेले लघुवित्तको कर्जा असुलीलाई जोड दिई चालू वर्षमा राम्रो प्रतिफल दिन सक्ने बनाउनका लागि काम गनुपर्ने सुझाव दिए ।
साधारण सभामा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । साथै उनले आगामी वर्षमा शेयरधनीको सुझाव र अपेक्षाअनुसार कार्यसञ्चालन व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
साधारण सभाको सञ्चालन संस्थाका कम्पनी सचिव जग्य प्रसाद पन्तले गरेका थिए ।
उक्त लघुवित्त संस्थाको देशको ७७ वटै जिल्लामा १८५ वटा शाखा छन् । २०८० पौष मसान्तसम्ममा लघुवित्तको ग्राहक सदस्य संख्या ४ लाख १ हजार १०९ छ भने ऋणी संख्या १ लाख ९९ हजार १४३ छ । लघुवित्तको लगानीमा रहेको कर्जा रु. २५ अर्ब ६२ करोड ७० लाख छ ।