मकवानपुर । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम बिहवार सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका छन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकोमा प्रसन्नता व्यक्त गरे । प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए । रासस