पुस १४, काठमाडौं । काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात शुरु भएको छ ।
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहानैदेखि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/ यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।
चन्द्रागिरि मात्र होइन यो पटक हुम्ला, डोटी, मनांगमा पनि यो वर्ष पहिलो पटक हिमपात भएको हो । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ ।
चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन रआवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ । दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
हिमाली भेगमा बाक्लो हिमपात : जनजीवन प्रभावित
ताप्लेजुङ जिल्लामा आइतवार साँझदेखि भारी मात्रामा हिमपात परेको छ । समुद्र सतहदेखि ३ हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।
घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात शुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताएका छन् ।
हुम्लाकोसिमकोटमा पनि बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । यस वर्षकै ठूलो हिमपातले स्थानीइ मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ ।