भारतले बौद्ध धर्मावलम्बी पर्यटक आकर्षण गर्न ठूलो लगानी गरिरहेको छ । भगवान् बुद्धसँग जोडिएका स्थानलाई ‘बुद्ध सर्किट’ परियोजनामार्फत विकास तथा यातायातको सहजतासमेत पुर्याइरहेको छ ।
पोखरामा ६ देशका २० जना पर्यटकले भाइटीका लगाए । रोपाइँमा रमाउन पनि पर्यटक नेपाल आएको पाइन्छ । सम्भाव्यता भएर पनि नेपालले सांस्कृतिक पर्यटनलाई राम्ररी बुझ्न नसकेको पाइन्छ ।
नेपालीहरू बालीमा पर्यटनका लागि जान आकर्षित भइरहेका छन् । त्यहाँको पर्यटनको एउटा प्रमुख पाटो धार्मिक र सांस्कृतिक नै हो । यो आजको विश्वको एक जल्दोबल्दो पर्यटकीय हबका रूपमा स्थापित भइरहेको छ । बालीमा रामायण नाटक मञ्चन गरी पर्यटकलाई आकर्षित गरिएको छ । देवीदेवताको मन्दिर–प्रतिमाको नजिक वा तोकिएको ठाउँमा तथा घरको प्रवेश द्वारमा पूजा भइरहेको देख्न सकिन्छ । बालीले जसरी संस्कृतिलाई पर्यटनसँग जोेड्न सकेको छ हामीले त्यसरी जोड्न सकेका छैनौं । सम्भावना बालीमा भन्दा बढी छ किनकि यहाँको संस्कृतिमा विविधता छ । प्रयासै नभएको होइन, तर सांस्कृतिक पर्यटनलाई अलग विधामा रूपमा बढाउन प्रयास गरिएको छैन ।
राम्रोसँग व्यवस्थापन गर्ने हो र संस्कृतिलाई दिगो पर्यटनसँग जोडेर प्रडक्ट निकाल्ने हो भने वर्षेनि थप हजारौं हजार पर्यटक तान्न सकिन्छ ।
नेपालमा पर्यटनलाई विविधीकरण गर्न र प्रवर्द्धनको माध्यम बनाउन हरेक क्षेत्रलाई पर्यटनसँग जोड्न आवश्यक छ । नेपालको धार्मिक, सांस्कृतिक र जीवनशैलीसँग जोडेर पर्यटन प्रडक्ट ल्याउन आवश्यक छ । हामीले यहाँका चाडपर्वका लागि मात्रै लक्षित गरी पर्यटक ल्याउने योजना बनाई त्यसअनुसार प्रचार गर्नेतर्फ लाग्नुपर्छ । यस्तो पर्यटनमा प्रतिस्पर्धा पनि कम हुने हुँदा तुलनात्मक रूपमा लाभ पनि बढी छ । तर, यसका लागि पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सरकारले विशेष रणनीति बनाउन आवश्यक देखिन्छ ,पर्यटनसँग चाडपर्वलाई जोड्न चाडपर्व मनाउने सम्बद्ध जातजाति र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक हुन्छ । चाडपर्वहरू सामाजिक एकता बढाउन तथा पारिवारिक मिलनमा केन्द्रित हुन्छन् । त्यसो हुँदा त्यसलाई व्यावसायिक बनाउन केही विशेष खाकाहरू बनाइनुपर्छ र त्यसका लाभ व्यवसायी र स्थानीय समुदाय दुवैले पाउनुपर्ने खालको हुनुपर्छ ।
भुटान तथा तिब्बतले पनि चाडपर्व पर्यटन (फेस्टिवल टुरिजम)को प्रवद्र्धन गरिरहेका छन् । । भुटानमा यस्तो पर्यटन प्याकेज महँगोमा विक्री भइरहेको छ । यसकै आडमा उसले महँगा पर्यटकलाई मात्र आफ्नो देशमा भित्रिन दिएको छ । नेपालले दशैंलाई नै पर्यटकीय प्याकेज बनाएर बेच्न सक्छ । त्यस्तै तिहारको देउसी भैला, रोपाइँ जात्रा, फागुपूर्णिमा, इन्द्रजात्रा र गाईजात्राजस्ता चाडपर्वहरूलाई पर्यटकीय प्याकेजका रूपमा विकसित गर्न सकिन्छ । पदयात्रामा आउने, दृश्यावलोकनका लागि आउने पर्यटक त्था विदेशी कूटनीतिज्ञहरू नेपालीका चाडपर्वमा संलग्न भएको र अत्यन्तै रमाएको पाइएको हुँदा यसको सम्भावना र औचित्य बारे पर्यटन व्यवसायी र सरकार यसबारे बेखबर छैनन् । तर यसबाट लाभ लिन प्रभावकारी नीति चालिएको छैन ।
स्पेनमा गोरु जुधाएको हेर्न विश्वभरबाट नै पर्यटक ओइरिने गरेका छन् । यो पर्यटकीय प्याकेज हुन्छ भने हरेक वर्ष माघे संक्रान्तिमा हुने गोरु जुधाईलाई पनि पर्यटकीय प्याकेज बनाउन सकिन्छ । सबै धार्मिक, कलासंस्कृति, ऐतिहासिक विषयवस्तु विदेशी पर्यटक आकर्षण गर्न पर्यटकीय प्याकेज बन्न सक्छ । चाहे तीज होस्, चाहे मुस्ताङमा हुने पद्मसम्भवको माक्स डान्स होस् वा हिमाली क्षेत्रमा हुने बौद्ध संस्कृतिका चाडपर्व ओऊन् ती सबैमा पर्यटक तान्न सक्ने क्षमता छ । झट्ट हेर्दा यस्ता पर्यटक थोरै आउने सम्भावना देखिन्छ । त्यही भएर यसमा व्यवसायीको ध्यान नगएको हुन सक्छ । तर, राम्रोसँग व्यवस्थापन गर्ने हो र यसलाई दिगो पर्यटनसँग जोडेर प्रडक्ट निकाल्ने हो भने यसकै लागि मात्रै वर्षेनि हजारौं हजार पर्यटक तान्न सकिन्छ । अध्ययन अनुसन्धन गरेर सही रणनीति लिने हो भने लाखौं पर्यटक यसका लागि मात्रै ल्याउन सकिन्छ ।
नेपालमा मौलिक चाडपर्वहरू वर्षैभरि मनाइन्छन् । विदेशीहरूका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विभिन्न चाडपर्वलाई क्यालेन्डरमै राखेर व्यवसायीले पर्यटकलाई थप आकर्षित गर्न खोजेको पाइन्छ । तर, यसमा उल्लेख्य सफलता प्राप्त हुन सकेको छैन किनभने उचित रणनीति र प्याकेज तथा तिनको प्रचारप्रसार हुन सकेको छैन । नेपाललाई पवित्र भूमिको रूपमा प्रचार गर्न केही थप कसरत पनि आवश्यक छ । अहिलेकै जस्तो गन्जागोलमा चाडपर्वको पर्यटन फस्टाइहाल्न भने सक्दैन । यसका लागि यहाँको सामाजिक परिवेश आदिमा पनि ध्यान दिनु आवश्यक हुन्छ । पर्यटनसँग व्यवसायीमात्र होइन, स्थानीय बासिन्दा पनि जोडिन आवश्यक हुन्छ जसका लागि थप व्यवस्थापन र नीति आवश्यक पर्छ ।
त्यसो त नेपाल पर्यटन बोर्ड हरेक वर्ष हुने नेपाली कला संस्कृति र चाडपर्वको क्यालेन्डर नै बनाएर प्रवद्र्धन नगरेको होइन । बोर्डले १ वर्षभित्र भएका र हुने सबै चाडपर्व तथा सांस्कृतिक गतिविधिको क्यालेन्डर बनाउने गरेको छ । व्यक्तिगत रूपमा केही पर्यटन व्यवसायीले निमन्त्रणा गरेरै चाडपर्वमा पर्यटक भित्र्याएको पनि पाइन्छ । तर, संस्थागत रूप भने लिन सकेको छैन ।
पर्यटकहरूले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरू रुचिपूवर्क अवलोकन गर्ने गरेका छन् । नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या ठूलै छ ।
धर्म र चाडपर्वको सम्बन्ध छ । नेपालमा धार्मिक पर्यटकको संख्या बढिरहेको छ । तर, यस्ता पर्यटकलाई पनि हाम्रा चाडपर्वसँग जोड्न सकिएको छैन । ती विशुद्ध धार्मिक कार्यका लागि मात्र आउने गरेका छन् । भारतीय वा अन्य देशका हिन्दू र बौद्ध धर्मावलम्बी नेपालमा आए पनि तिनले नेपालका चाडपर्वको भिन्नता थाहा पाउन सक्दैनन् । दशैं, तिहार, तीज वा अन्य चाडपर्व नेपालको मौलिक छ । त्यसमा विश्वका हिन्दूहरूलाई आकर्षित गर्नेगरी प्याकेज बनाउनेतर्फ कसैको पनि ध्यान गएको छैन भन्न सकिन्छ ।
चाडपर्वमा धनी छौं भनेर हामी गर्व गर्छौं । यस्तै गर्व प्राकृतिक सुन्दरता र स्रोतमा पनि गर्छौं । तर तिनको आर्थिक सम्भाव्यता दोहनमा भने हामी रचनात्मक बन्न सकिरहेका छैनौं । त्यसैले नवीन पर्यटन प्याकेजका लागि चाडपर्व र पर्यटनलाई जोड्नेबारे अध्ययन र नीति निर्माण तथा कार्यान्वयनमा लाग्नु आवश्यक छ ।
लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।