असोज १४, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआइडिसीएल) को लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बिहीवार) बैंकिङ समयसम्म रहेको छ ।
कम्पनीले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि लिलामीमा ल्याएको हो । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्रीमा ल्याएको हो ।
लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । त्यसैगरी आवेदकले बोलपत्र पेश गर्दा संस्थापकको तर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिनसक्ने छन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।
विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी शेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।