बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार मोहनचन्द्र रेग्मीले गत शुक्रबार राजीनामा दिएपछि उपकुलपति ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष गुरु खनाल र अस्पताल निर्देशक गौरीशंकर साह यति बेला नैतिक दबाबमा परेका छन् । प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी जारी राख्दै दुई महिनाअघि नै राजीनामा माग गर्दै आएको बेला रजिस्ट्रार रेग्मीले राजीनामा दिएका हुन् । उता ६ जना सिनेटरहरूले पनि राजीनामा दिएर मार्गप्रशस्त नगर्ने पदाधिकारीलाई कारबाही माग गर्दै कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गत बिहीबार नै निवेदन दिएका छन् ।