काठमाडौं । पछिल्लो समय ‘बैंकिङ आतंक’का कारण आत्महत्याका घटना बढेको भन्दै निजीक्षेत्रले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । काठमाडौं जिल्ला उद्योग वाणिज्य संघले बिहीवार विज्ञप्ति निकाल्दै यस्तो बताएको हो । संसद् बैठक चलिरहेको अवस्थामा संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेम आचार्यले व्यावसायिक जीवनका भोगाइ उल्लेख गरेको सन्दर्भमा संघले विज्ञप्ति निकालेको हो ।
‘सामाजिक सञ्जालमा व्यावसायिक जीवनका भोगाइको वेदना उल्लेख गरी इलामका प्रेम आचार्यले आफ्नो शरीरमा आगो लगाई आत्मदाह गर्नु, विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन निरौलालगायतले बैंकिङ आतंकका कारण आत्महत्या गरेका घटनाले समग्र निजीक्षेत्र मर्माहित र गम्भीर भएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाका दबाब र अन्यायका धेरै कुरा आइरहेकाले यस्ता अप्रिय घटना हुन नदिन र व्यवसायीको मनोबल बढाउन राज्यका सबै निकायले आर्थिक क्षेत्रसँग सम्बन्धित नीतिनियम, ऐनकानून, निर्देशन र परिपत्रहरू कार्यान्वयन गर्न संघले माग गरेको छ ।