चैत १०, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/ ०८९को साउन देखि फागुनसम्म नेपालको वैदेशिक व्यापारमा निर्यात कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको रहेको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ दशमलव ९० प्रतिशतले वृद्धि हो । तर, नेपालबाट हुने कुल निर्यातको तुलनामा इन्धनको आयात मात्रै बढी रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको सो अवधिमा नेपालमा पेट्रोलियम पदार्थको आयात मात्रै १ खर्ब ७६ अर्ब ८८ करोड रुपैयाँ बराबरको रहेको भन्सार विभागको तथ्यांक छ ।
चालू आर्थिक वर्षको ८ महीनामा डिजेल आयात ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । विभागको तथ्यांक अनुसार खाना पकाउने एलपी ग्यासको आयात ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँ तथा पेट्रोलको आयात ३९ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै हवाई इन्धन ७ अर्ब ६६ करोड ४४ लाख ३४ हजार रुपैयाँ तथा मट्टितेलको आयात ८८ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबरको भएको छ । महंगीको चापले आयात तथा निर्यात बढेको जानकारहरु औंल्याउँदै आएका छन् ।