गत आर्थिक वर्षमा मुलुकमा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवमा कुल १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ खर्ब ९३ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक छ । कुल आयात व्यापारमा इन्धनको हिस्सा नै १५ प्रतिशत छ । आयातित वस्तुमा पेट्रोलियम पदार्थ सँधै पहिलो स्थानमा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष इन्धन आयातमा बढी मूल्य बाहिरिएको हो ।
आव २०७५-७६ मा २८ लाख ५० हजार ७ सय ७१ किलोलिटर इन्धन आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । अघिल्लो वर्ष १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको २६ लाख ६१ हजार ९ सय ८५ किलोलिटर इन्धन आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा इन्धनको आयात रकममा २५ प्रतिशतले वृद्धि भएको निगका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । इन्धनको आयात परिणाममा भने १० प्रतिशतले वृद्धि भएको निगमको तथ्यांक छ । मुलुकमा इन्धनको खपत बढ्दै गएकाले बर्सेनि आयातदर बढ्दै गएको उनले जानकारी दिए । बढ्दो सवारीसाधनको प्रयोगसँगै विकास निर्माणका काम तिव्र रूपमा विस्तार भएकाले इन्धनको खपतदर बर्सेनि बढ्दै गएको हो । स्वदेशबाट निर्यातभन्दा दोब्बर मूल्य बराबरको इन्धन आयात भएको हो । गत वर्ष ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
निगमका अनुसार गत वर्ष सबैभन्दा धेरै डिजेल आयात भएको छ । १६ लाख ६४ हजार ३८ किलोलिटर डिजेल, ५ लाख ४२ हजार २ सय ९९ पेट्रोल, १ लाख ९३ हजार २ सय ५९ किलोलिटर हवाई इन्धन, २३ हजार ८ सय ३४ किलोलिटर मटीतेल र ४ लाख २७ हजार ३ सय ४० मेट्रिक टन खाना पकाउने एलपी ग्यासको आयात भएको निगमको भनाइ छ ।
निगमका अनुसार मासिक पेट्रोल ४५ हजार १ सय ९१ किलोलिटर, १ लाख ३८ हजार ६ सय ६९ किलोलिटर डिजेल, एक हजार ९ सय ८६ किलोलिटर मटीतेल र १६ हजार १ सय ४ किलोलिटर हवाई इन्धन आयात हुने गरेको छ । यस्तै, ३५ हजार ६ सय ११ मेट्रिक टन एलपी ग्यास आयात हुने गरेको तथ्यांक छ । मुलुकमा मासिक सरदर ८० हजारदेखि १ लाख किलोलिटर डिजेल माग छ । त्यस्तै पेट्रोल मासिक २५ देखि ३० हजार किलोलिटर, हवाईइन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ । उपत्यकामा दैनिक चार सय किलोलिटर पेट्रोल र ६ सय किलोलिटर डिजेल खपत हुन्छ ।
बर्सेनि इन्धनको खपत बढ्दै गएपनि सो अनुसार भन्डारण गर्नका लागि निगमसँग क्षमता कमजोर रहेको छ । इन्धनको माग बढ्दै गएकाले भण्डारण क्षमता विस्तार नभए देशमा ठूलो चुनौती रहेको छ । हालको इन्धन मौज्दात भण्डारण क्षमता पेट्रोल ६, डिजेल १० र हवाई इन्धन १५ दिनलाई मात्र थेग्नसक्ने अवस्था छ ।
पाँच वर्षमा इन्धन आयात
आव किलोलिटर रकम
२०७१÷७२ १६,३३,३३७ १३५.९ अर्ब
२०७२÷७३ १३,३९,१७७ ५८.९५ अर्ब (नाकाबन्दी)
२०७३÷७४ २२,२९,१४० १९५.५ अर्ब
२०७४÷७५ २६,६१,९८५ १५४ अर्ब
२०७५÷७६ २८,५०,७७१ १९३.३३ अर्ब
स्रोतः नेपाल आयल निगम