असार ९, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा कर फछर्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि रहेका छन् ।
अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले उनीहरुविरुद्ध कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको बताएको छ । तीन जना उपर उक्त रकम बमोजिमको माग दावी पनि अख्तियारले गरेको छ ।
उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्याई बदनियतपूर्ण काम गरेको स- प्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।
अख्तियारले उनीहरु विरुद्ध उक्त रकम बराबर विगो कायम गरी ८ देखि १० वर्षसम्म कैद सजाय पनि माग गरेको छ ।