वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख विजयकुमार सरावगीले बितेका २०/२५ वर्षमा हुन नसकेको विकास निर्माणको काम आफूले साढे ४ वर्षमा गरेको दाबी गरे ।
आफूले महानगरको नेतृत्व सम्हाल्दा महानगर ऋणमा डुबेको बताउँदै प्रमुख सरावगीले भने, ‘महानगरले सीमित स्रोतका बीच विकास निर्माण र नागरिकलाई सेवा प्रवाहमा उल्लेखनीय काम गरेको छ ।’
विगतको तुलनामा महानगरको आयस्रोतमा सुधार आएको पनि उनले बताए । महानगरले कोरोना महामारी नियन्त्रणमा नमूना काम गरेको पनि उनको भनाइ छ । उज्यालो वीरगञ्ज, पूर्ण खोपजस्ता नमूना कार्यक्रम अन्य पालिकाका लागि पनि अनुकरणीय भएको उनले बताए ।
‘फोहोर व्यवस्थापनमा निजीक्षेत्रको सहभागिता, अस्पतालजन्य फोहोर व्यवस्थापन, सडक, नाला, बसपार्कजस्ता संरचनाको निर्माण तथा नागरिकलाई सेवा प्रवाहमा व्यापक सुधार आएको छ । यसलाई अझ प्रभावकारी बनाउन नगरवासीको रचनात्मक सहकार्यको खाँचो छ,’ उनले भने ।
वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्ने योजना पनि सरावगीले सुनाए । ‘वीरगञ्जको मध्यभागका रहेको कारागारका कारण विभिन्न समस्या भएको छ । यसलाई मुख्य शहरबाट केही पर सार्ने योजना छ,’ उनले भने ।
नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरावगीले विभिन्न योजना अघि बढाउन समस्या भएको बताए । महानगरले युवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, रोजगारी, उद्यम, व्यापार प्रवद्र्धनलगायत कार्यक्रम ल्याएको उनको भनाइ थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम वीरगञ्ज महानगर वडा नं ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो । अध्यक्ष चौरसियाले आफूले सो वडालाई विकासमा नमूना वडा बनाउने प्रयास गरेको बताए ।
सीमित स्रोतसाधन भएर पनि सडक तथा नाला निर्माण, सीसीटीभी क्यामेरा जडान, विद्युतीकरणलगायत काम गरेको र वडावासीको समस्याको समाधानमा आफू सधैं तत्पर रहेको पनि महानगर प्रमुख सरावगीले बताए । कार्यक्रममा सहभागी अधिकांशले सो वडामा उल्लेखनीय विकासका काम भएको बताए । उनीहरूले महानगरले विकास निर्माणका योजना र सेवा प्रवाह अझ बढी प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका थिए ।