वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाको चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो सार्वजनिक सुनुवाइ सोमवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले सुशासन प्रवर्द्धनमा सार्वजनिक सुनुवाइको अभ्यास सराहनीय भएको बताए । जनताले चुनेर पठाएका प्रतिनिधि जनताको आलोचनात्मक सुझाव सुन्न तत्पर हुनुले पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने उनीहरूले बताए । स्थानीय तहमा जनताका प्रतिनिधि चुनिएर आइसकेपछि पनि जनताले अपेक्षित सुधारको प्रत्याभूति नपाएको गुनासोसमेत उनीहरूले गरे । वीरगञ्ज महानगरमा शिक्षा, स्वास्थ्य, सरसफाइ, पूर्वाधार, सडक, ढल, नालालगायतमा अपेक्षा गरेअनुसारको काम नदेखिएको सहभागीले बताए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका प्रमुख विजयकुमार सरावगीले रचनात्मक आलोचना स्वीकार गरी आगामी दिनमा सुधारको बटोमा लैजाने प्रतिबद्धता व्यक्त गरे । प्रमुख सरावगीले आफू महानगरको नेतृत्व सम्हाल्न आउँदा महानगर ३६ करोड रुपयाँ ऋणमा डुबेको र वार्षिक आय १७ करोड रुपैयाँमात्र रहेकोमा अहिले ऋण चुक्ता गरेर विकासको बाटोमा अग्रसर गराएको बताए । वीरगञ्जमा आफूले विकासको बाटो तयार पारेको र अब यसलाई अघि बढाउन सक्षम नेतृत्वको खाँचो रहेको पनि उनले बताए । वीरगञ्जलाई विकासमा अघि बढाउन आफू सक्षम रहेको दाबी गर्ने उनले आफूभन्दा सक्षम व्यक्ति आए उसलाई सघाउने पनि बताए । वीरगञ्जको मेयरमा चुनिएपछि विगत साढे ४ वर्षमा थुप्रै काम भएको उनको भनाइ थियो । फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र सेवाका क्षेत्रमा उल्लेख्य काम भएको उनले बताए । महानगरको सीमित स्रोत र यसैबीचमा कोरोना महामारीका कारण सोचेजति काम गर्न नसकेको पनि उनले स्वीकार गरे ।  

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख विजयकुमार सरावगीले बितेका २०/२५ वर्षमा हुन नसकेको विकास निर्माणको काम आफूले साढे ४ वर्षमा गरेको दाबी गरे । आफूले महानगरको नेतृत्व सम्हाल्दा महानगर ऋणमा डुबेको बताउँदै प्रमुख सरावगीले भने, ‘महानगरले सीमित स्रोतका बीच विकास निर्माण र नागरिकलाई सेवा प्रवाहमा उल्लेखनीय काम गरेको छ ।’ विगतको तुलनामा महानगरको आयस्रोतमा सुधार आएको पनि उनले बताए । महानगरले कोरोना महामारी नियन्त्रणमा नमूना काम गरेको पनि उनको भनाइ छ । उज्यालो वीरगञ्ज, पूर्ण खोपजस्ता नमूना कार्यक्रम अन्य पालिकाका लागि पनि अनुकरणीय भएको उनले बताए । ‘फोहोर व्यवस्थापनमा निजीक्षेत्रको सहभागिता, अस्पतालजन्य फोहोर व्यवस्थापन, सडक, नाला, बसपार्कजस्ता संरचनाको निर्माण तथा नागरिकलाई सेवा प्रवाहमा व्यापक सुधार आएको छ । यसलाई अझ प्रभावकारी बनाउन नगरवासीको रचनात्मक सहकार्यको खाँचो छ,’ उनले भने । वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्ने योजना पनि सरावगीले सुनाए । ‘वीरगञ्जको मध्यभागका रहेको कारागारका कारण विभिन्न समस्या भएको छ । यसलाई मुख्य शहरबाट केही पर सार्ने योजना छ,’ उनले भने । नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरावगीले विभिन्न योजना अघि बढाउन समस्या भएको बताए । महानगरले युवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका, रोजगारी, उद्यम, व्यापार प्रवद्र्धनलगायत कार्यक्रम ल्याएको उनको भनाइ थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम वीरगञ्ज महानगर वडा नं ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको थियो । अध्यक्ष चौरसियाले आफूले सो वडालाई विकासमा नमूना वडा बनाउने प्रयास गरेको बताए । सीमित स्रोतसाधन भएर पनि सडक तथा नाला निर्माण, सीसीटीभी क्यामेरा जडान, विद्युतीकरणलगायत काम गरेको र वडावासीको समस्याको समाधानमा आफू सधैं तत्पर रहेको पनि महानगर प्रमुख सरावगीले बताए । कार्यक्रममा सहभागी अधिकांशले सो वडामा उल्लेखनीय विकासका काम भएको बताए । उनीहरूले महानगरले विकास निर्माणका योजना र सेवा प्रवाह अझ बढी प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका थिए ।