काठमाडौं उपत्यकामा खेती गरिने जग्गा अब बस्तीमा परिणत भएको छ । मलिलो उर्बर माटोमा मार्सी धान र चम्सुरको साग उब्जने खेत बारीमा सिमेन्ट र फलाम राखेर भव्य महलहरू बनाउने क्रम तीव्र भएको छ । बाँकी जग्गा पनि घडेरीमा दिन प्रतिदिन टुक्रा पारिएका छन् ।
कृषि तथा सहकारी मन्त्रालयका अनुसार परम्परागत रुपमा लगाइने धान, मकै, कोदो गहुँको क्षेत्रफल घट्दै गएको र आलु तथा तरकारी कुनै बेला मनग्य पु¥याउने काठमाडौं अहिले बाहिरबाट हुने खाद्यान्न र तरकारी आयातमा निर्भर रहेको छ । अहिले कालिमाटी तरकारी बजारमा आउने तरकारीमध्ये सात प्रतिशतमात्र उपत्यकाको उत्पादन हुने गरेको छ । आव २०३५/३६ को तुलनामा २०६५/६६ मा जिल्लामा धान खेतको क्षेत्रफल ३४ प्रतिशतले घटेको छ । मकै र कोदो उत्पादन हुने जमिनको क्षेत्रफल ४० प्रतिशतले घटेको छ । गहुँखेतीको क्षेत्रफल सबभन्दा तीव्र ५० प्रतिशतले घटेको छ । खेतीयोग्य जमिन यसरी घट्नुमा आवास क्षेत्रको विस्तार नै मुख्य कारण हो । गहुँ लगाउने खेतबारीमा तरकारी आलुको खेती केही बढेको छ । धान, मकै र कोदो बारी घडेरीमा परिणत भएको छ । भक्तपुर जिल्लामा पनि २० प्रतिशतले धानखेती घटेको छ । ललितपुरमा सबैभन्दा कम घटेको देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालय काठमाडौंले हालै प्रकाशित गरेको विवरण अनुसार २०४२ देखि २०५७ सालसम्मको अवधिमा खेती गरिएको कुल क्षेत्रफल ६४ प्रतिशतबाट ४१ प्रतिशतमा झरेको छ ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३