राणा प्रधानमन्त्री देव शमशेरले शुरू गरेको शनिवार बिदाको शृंखलामा अब एक इँटा थप्ने प्रयास भइरहेको छ, जसमा अनेक मनोविज्ञान र तर्कवितर्क आइरहेका छन् । झट्ट हेर्दा यो विषय अनुत्पादक लाग्न सक्छ तर उप्रान्तमा गएर फलदायी हुनेछ ।
१९औं शताब्दीमा शुरू भएको साप्ताहिक २ दिने बिदाबाट उद्योगी व्यवसायी चिन्तित थिए । तर, १९३८ अगावै हेन्री फोर्डले यसलाई समर्थन गरे । हुन त मानिसहरू २ दिन बिदाले कर्मचारीले कार किन्छन् भन्ने फोर्डको अनुमान थियो भन्छन् । विश्वका ठूला देशहरूमा इस्लाम समुदायको शुक्रवार र इसाई समुदायको आइतवारको बिदाको प्रभाव पनि कहीँ कतै यो साप्ताहिक आइतवार र शनिवारको बिदामा रहेको छ । भनिन्छ, बिदा सुविधा हो अधिकार होइन । जाडोको ३ महीना मङ्सिर, पुस र माघ १५ सम्म अर्थात् ७५ दिन १० देखि ४ बजेसम्म तथा अन्य महीना १० देखि ५ बजेसम्म र शुक्रवार १ दिन ३ बजेसम्म र शनिवार पूरै बिदा गर्ने परिपाटी सरकारी कार्यालयमा छ ।
जेठ १ बाट हप्तामा २ दिन बिदा दिने विषयको प्रावधानले निजीक्षेत्रलाई पीडा भएको छ जबकि लामो समय काम या गुणस्तरीय काम यो सोच्ने बेला भएको छ । निजीक्षेत्रमा स्थान, कामको प्रकृति विशेषले आआफ्नै बिदा प्रणाली छ । यसमा सार्वजनिक बिदा १४ दिन छ र साप्ताहिक बिदा ५२ दिन छ । केही निजी उद्योग व्यवसायमा कार्यालय समयमा पटकपटक ११–१५ मिनेट ढिला पुगेमा १ दिनको बिदा बराबरको तलब काट्नेसम्मको चलन छ ।
हँसिला कामदार/कर्मचारी र तिनहरूको स्वच्छन्द दिमाग लगाएर गरिएको कामलाई बिर्सनु हुँदैन । कुनै बेला भएको एक हेलिकोप्टर दुर्घटनामा पाइलटलाई वरिष्ठ यात्रुबाट भएको दबाबबाट चालक हतारिएर दुर्घटना भएको विषय स्मरण गर्न जरुरी छ । उत्पादकत्वको कुरा गर्ने हो भने ५ दिन काम गर्दा कर्मचारीबाट गरिएको काममा अलग्गै कार्यक्षमता, दक्षता, लगनशीलता देखिन्छ । २ दिन बिदा गर्दा आन्तरिक पर्यटन बढ्नुका साथै १ दिन परिवारमा रहने, १ दिन सरसामान किनमेल गर्न बजार जाने तथा आफन्त भेटघाट र घरायसी काम गर्ने समय मिल्छ । यसरी दुई दिन बिदा दिँदा उद्योगीव्यवसायीले व्यवसाय मात्र नभएर मनोविज्ञानलाई समेत मनन गर्न जरुरी छ ।
इन्धन जोगाउने र डलर बचाउने बहानामा यो आए पनि अन्ततोगत्वा यसबाट फाइदा मिल्ने भनेको उद्योगी व्यवसायीलाई नै हो । पुरानो मानसिकता बोकेकाहरूमा सरकारले गलत गर्यो भन्ने छ । २ दिनको बिदा कसरी खर्चिने हो तथा ५ दिनमा कामको बढी चाप हुन्छ, काम धेरै छ भन्ने प्रतिक्रिया छ । बौद्धिक, युवा, मननशील तथा जागरुकहरूमा यो कदमप्रति सकारात्मकता छ । फुर्सद भनेको मानिसमा ऊर्जा प्रदान गर्ने औषधि पनि हो ।
विश्वका १२५ भन्दा बढी देशमा हेर्दा २ दिन साप्ताहिक बिदा दिने परिपाटी छ । २ दिन बिदाको आर्थिक, सामाजिक तथा पारिवारिक एवं व्यक्तिगत पक्षलाई हेर्दा कमाउने जनशक्तिमा समय मिलेकाले खर्च गर्ने परिपाटी बढ्ने, होटेल रेस्टुराँ चल्ने, पर्यटन बढ्ने, बच्चाहरूलाई कामकाजी अभिभावकको समय मिल्ने र बच्चाहरूमा ऊर्जा बढ्ने, घरपरिवारमा मूलतः श्रीमान्श्रीमती बीचको तनाव कम हुने, कृषि उत्पादन बढ्ने, कामको तनावबाट केही मुक्त हुने भएकाले उच्च रक्तचापका रोगी घट्ने आदि सकारात्मक फाइदा हुनेछ ।
वर्षमा १८० दिन पढाइ हुने हाम्रा विद्यालयहरूमा २ दिन बिदा हुँदा बच्चालाई घरायसी काममा पनि लगाउन सकिन्छ । कृषि उत्पादनमा पनि उनीहरूको योगदान लिन सकिन्छ । तर, बाल श्रम हुनु हुँदैन । स्कूल बस भएका नभएका आदि विषय आए राज्यले नियम बनाउँदा व्यक्ति विशेष हेर्दैन समग्रतामा जानुपर्छ । करेसाबारी र कौसीखेती बढाउन सकिन्छ । साथै कर्मचारी कामदारको सृजनशीलता बढाउन, उत्पादकत्व बढाउन, स्वस्थ्य कामदार/कर्मचारी काममा लगाउन २ दिन बिदा लाभदायक हुन्छ ।
काम र व्यक्तिगत जीवनका बीच सन्तुलन मिलाउन २ दिन बिदा जरुरी छ । किनभने घरपरिवार व्यवस्थित गरेपछि मात्र हामी कामदार र कर्मचारी पूर्ण प्रतिबद्ध भएर काम गर्न सक्छौं ।
मानसिक स्वास्थ्यका लागि नसर्ने रोगबाट कामदार र कर्मचारी जोगाउन, उनीहरूलाई काममा टिकाइराख्न, कार्यक्षमता बढाउन, अवश्य नै दुईदिने साप्ताहिक बिदा लाभदायी हुन्छ । बिदा कम्पनीले उपलब्ध गराएको निःशुल्क उपहार मानिन्छ जुन रकमभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।
सरकारी कार्यालयको बत्ती, पानी, टेलिफोन, कागज प्रिन्ट, चिया, खाजा, इन्धन निश्चय नै बचाउन सकिन्छ । निजीक्षेत्रको उद्योग व्यवसायमा विद्यमान अधिक कर्मचारी कामदारको स्वरूपमा परिवर्तन गर्न २ दिन बिदाले सहयोग मिल्छ । स्वदेशभित्र केही कार्यालयमा पहिलेदेखि अभ्यास गरिएको हप्तामा २ दिन बिदाले सहज, हल्का, आराम तथा जीवन आनन्दमय भएको उक्त कार्यालयका कामदार र कर्मचारी बताउँछन् । कारखानामा काम गर्ने कामदारका बारेमा उद्योगी व्यवसायीको चासो होला : उत्पादन गर्न कठिन हुन्छ, बजारको मागअनुसार सामान पुर्याउन कठिन हुन्छ । तर यो अभ्यास गर्दै गएपछि हट्दै जाने समस्या हो ।
बिदाबाट कामदारलाई तनावमुक्त बनाई उत्पादकत्व बढाउन सकिन्छ । निजी सरकारी सबै क्षेत्रमा एकनासले यो बिदा लागू गरेमा कृषिक्षेत्रको पनि केही मात्रामा उत्पादकत्व बढ्छ, जसबाट ३० प्रतिशत कृषि आयातलाई तल झारेर डलर जोगाउन सकिन्छ । सबै क्षेत्रमा यो नियम लागू गरेमा मात्र यसको फाइदा लिन सकिन्छ ।
सरकारले नयाँ प्रयास र अभ्यास थालनी गर्दा डराएर सीधा विरोध गर्नु तथा सरकारको इमानदार प्रयासलाई तुहाउन भरमग्दुर प्रयास गर्नुभन्दा यो विषयमा सहयोग गर्नु आम नागरिकको कर्तव्य हुन्छ । विदेशमा गरिएका दुईदिने बिदाको उद्देश्य र हामीकहाँ उद्देश्य फरक भए पनि यो विषयको उठान ठीक समयमा भएको छ । यसलाई निरन्तरता दिनुपर्छ । विगतमा लागू भएन तर आज परिस्थिति अलग छ । घरबाट काम गर्ने चलन थालनी भइसकेको छ । प्रविधिले छलाङ मारेको छ, महामारीले हामीलाई धेरै कुरा सिकाएको छ । तसर्थ हरेक क्षेत्रबाट यस विषयमा मनन गरौं ।
लेखक नेपाल विज्ञापन संघ (आन) का कार्यकारी निर्देशक हुन् ।
बगदाद, (एजेन्सी) । इराकको राजधानी बगदादस्थित प्रधानमन्त्रीको निवासस्थानमा आइतबार ड्रोन आक्रमण भएपछि इराकको स्थिति निकै तनावपूर्ण रहेको छ । गत महिना सम्पन्न संसदीय चुनावमा इरान समर्थित छापामारहरू नराम्ररी पराजित भएपछि तनाव शुरू भएको हो । आइतबार बेलुकीको प्रधानमन्त्री मुस्तफा अल –काधिमी लक्षित सो आक्रमण यता बग्दादको आकाशभरि हेलिकोप्टर उडेको तथा राजधानीको अत्यन्तै कडा सुरक्षा प्रबन्ध […]