लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । उद्योग कार्यालयमा दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्ने उद्योग खारेज भएका हुन् ।
आर्थिक वर्ष ०७८/७९ को ६ महिने अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिइन् । उनका अनुसार यस अवधिमा ५२१ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, सोही अवधिमा १८८ घरेलु उद्योगको नवीकरण भएको छ ।
आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता र ३६९ उद्योग नवीकरण भएका छन् ।
कार्यालयले अघिल्लो आव ०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ ।
आव ०७५/७६ मा ६ उद्योग खारेज भएको कार्यालयले बताएको छ । उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो ।
कार्यालयका अनुसार आव ०७४/७५ मा १० वटा उद्योग खारेज भएका थिए ।
सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, आव ०७३/७४ मा ८ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो ।
वाणिज्यतर्फ आव ०७८/७९ को साउनदेखि पुससम्म ५२ वटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्य फर्म नवीकरण भएका छन् ।
आव ०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । रासस