जीवन बीमा : पोलिसी समर्पणबाट झन्डै ९ अर्ब फिर्ता, 'आर्थिक मन्दीको असर'

काठमाडौं । पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (Insurance Policy Surrender) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरू (Life Insurance Companies) ले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले पोलिसी सरेन्डर गर्दा बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ५४ लाख रुपैयाँभन्दा रकम फिर्ता गरेका छन् ।  प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी पोलिसी साउनमा सरेन्डर भएको छ । साउनमा बीमितले पोलिसी सरेन्डर गरेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम बीमा कम्पनीसँग फिर्ता लिएका छन् ।  यस्तै फागुनमा १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क पोलिसी सरेन्डरमार्फत फिर्ता भएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनमा मात्रै बीमितले ८ हजार ९३९ ओटा पोलिसी सरेन्डर गरेका छन् । त्यसबाट बीमा कम्पनीहरूले १ अर्ब ८ करोड २६ लाख रूपैयाँभन्दा बढी फिर्ता गरेका छन् ।  फागुनमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३४ करोड २० लाख रुपैयाँ बीमा शुल्क फिर्ता भएको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड LIC Nepal को १५ करोड ७३ लाख र तेस्रोमा राष्ट्रिय बीमा संस्थानको १४ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क सरेन्डरका कारण फिर्ता भएको छ ।   नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री अहिलेको आर्थिक मन्दीको प्रत्यक्ष असर बीमा व्यवसायमा पनि परेकोले विगतमा भन्दा अहिले पोलिसी सरेन्डर बढेको बताउँछन् ।  ‘धेरैजसो बीमितले सहकारीमा पैसा राखेर त्यसको ब्याजले पनि बीमा शुल्क तिर्ने गर्नुभएको थियो । तर, अहिले सहकारी डुबेका कारण बीमितको बीमा शुल्क तिर्ने उक्त बाटो बन्द भएको छ,’ उनले भने, ‘यस्तै अहिले व्यापार व्यवसाय पनि ठप्प भएको छ । त्यसैले अहिले बीमितको बीमा शुल्क तिर्ने बाटो नै बन्द भएको छ । बीमा शुल्क तिर्न नसक्दा धेरै बीमितहरूले पोलिसी सरेन्डरको बाटो अपनाउनु परेको छ ।’ बीमा (Insurance) गर्दा आफ्नो अन्य आवश्यकता पूरा भएपछि मात्र गरिन्छ । अहिले आम्दानीको स्रोत नै ठप्प हुँदा धेरैलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नै गार्‍हो भएको छ । ‘पैसा अभावका कारण अहिले पनि पोलिसी सरेन्डर गर्न धेरै बीमितहरू आउनुहुन्छ,’ खत्री भन्छन्, ‘हामीले धेरै बीमितलाई सरेन्डर गर्नुभन्दा पोलिसी धितो राखेर कर्जा लिँदा बढी फाइदा हुने भएकाले कर्जाको विकल्प अपनाउन पनि सुझाव दिने गरेका छौं ।’ 

सम्बन्धित सामग्री

चार महीनामा करीब ५० अर्ब बीमा शुल्क संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चार महीनामा करीब ५० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीहरूले कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४४ करोड रुपैयाँ बीमा संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा कुल बीमा शुल्क संकलन ७ दशमलव ४५ प्रतिशतले बढेको हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ४६ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा परेकाले कम्पनीहरूको व्यापारमा प्रभाव परेको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् ।  प्राधिकरणका अनुसार चालु आवको चार महीनामा प्रथम बीमा शुल्क संकलन ५ दशमलव ३६ प्रतिशतले घटेको छ । चालु आवको चार महीनामा कम्पनीहरूले ८ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।  चालु आवको चार महीनामा नवीकरण बीमा शुल्क संकलन १० दशमलव ६२ प्रतिशतले बढेको छ । चालु आवको चार महीनामा कम्पनीहरुले ४० अर्ब ८१ करोड रुपैयाँ नवीकरण बीमा शूल्क संकलन गरेका छन् ।  कुन महीना कति बीमा शुल्क संकलन ? महीना प्रथम बीमा शुल्क (रु लाखमा) नवीकरण बीमा शुल्क (रु लाखमा) कुल बीमा शुल्क (रु लाखमा) साउन 22,980 173,089 196,069 भदौ 20,387 74,856 95,243 असोज 23,860 92,876 116,735  कार्तिक 19,059 67,306 86,365 कुल बीमा शुल्क (रु लाखमा) 86,285 408,126 494,412