सन् २०१९ को अन्त्यतिर देखिएको कोभिडको प्रभावबाट बिस्तारै तंग्रिँदै गरेको अर्थतन्त्रलाई २०२२ मा शुरू भएको रूस–युक्रेन युद्धले नराम्रोसँग गाँजिरहेको त छ नै, सँगै गत अक्टोबरदेखि शुरू भएको इजरायल प्यालेस्टिनी युद्धले थप थिलथिलो बनाएको छ ।
यी अन्तरराष्ट्रिय घटनाहरूले विश्वव्यापी रूपमा माग–आपूर्ति सन्तुलनलाई खलबलाएको छ र कच्चा तेलको मूल्य अनपेक्षित रूपमा बढेको छ । २०१९ अक्टोबरमा प्रतिब्यारेल ५९.३५ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य बढेर अहिले ९० डलर माथि पुगेको छ । कच्चा तेलको उच्च मूल्यवृद्धिको प्रत्यक्ष असर बजार मूल्यमा पर्नाले अहिले विश्वव्यापी रूपमा नै मुद्रास्फीतिको दर बढ्दै गएको छ ।
यिनै विविध कारणले विश्व अर्थतन्त्र आक्रान्त बनेको छ । फलस्वरूप श्रीलंका, पाकिस्तानजस्ता एशियाली देशहरूमा मात्र होइन, यूरोपदेखि अमेरिकासम्मका मुलुकहरूमा आर्थिक कारोबारमा शिथिलता देखिएका छन् । त्यहाँका कतिपय व्यावसायिक प्रतिष्ठानहरू मात्र होइन, बैंकहरू समेत डुब्न पुगे भने हालै मात्र चीनमा समेत यसका असरहरू देखिन थालेको छ । त्यहाँको रियल स्टेटसम्बन्धी सम्पत्ति व्यवस्थापन गर्ने सबैभन्दा ठूलो कम्पनी हालै टाट पल्टिएको घोषणा गरिएको छ । यस्तो विश्व परिवेशमा फेरि हालै शुरू भएको इजरायल प्यालेस्टिनी युद्धले थप कस्तो असर पुर्याउने हो, यसै भन्न सकिँदैन । विश्व अर्थतन्त्रमा देखिएका यस्ता शिथिलताबाट नेपाल पनि प्रभावित भएको छ ।
नेपालको सम्पूर्ण अन्तरराष्ट्रिय व्यापारिक कारोबारको ७५ प्रतिशतको हाराहारीमा भारतसँग व्यापार हुने र अझ तेलमा प्रत्यक्ष रूपमा भारतमाथि नै निर्भर रहनुपर्ने भएकाले मूल्य वृद्धि एवं मुद्रास्फीतिबाट नेपाल पनि अप्रभावित रहने कुरै भएन । त्यस्तै यिनै बाह्य कारणले गर्दा नेपालको अर्थतन्त्रको गतिसमेत सुस्ताउन थालेको छ र यसले समग्र मागलाई घटाएको छ, लगानी अवरुद्ध गरेको छ र व्यवसायहरूको कारोबारलाई उल्लेख्य रूपमा घटाएको छ ।
आर्थिक वर्ष २०७९/८० को ३ महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति दर ८ दशमलव ५० प्रतिशतमा रहेकोमा अहिले त्यो बढेर ७ प्रतिशत माथि पुगेको छ । गतवर्ष आयातमा भएको उच्च वृद्धिले शोधनान्तर स्थितिमा परेको चाप अपेक्षाकृत कम हुनुका साथै विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिले बाह्य क्षेत्रअनुकूल देखिए पनि आन्तरिक कारणले नेपाली अर्थतन्त्र झनै प्रतिकूलताको गोरेटोतर्फ अग्रसर भइरहेको मान्न सकिन्छ ।
समग्र अर्थतन्त्र नै वक्र मार्गमा अग्रसर भैरहँदा वित्तीय क्षेत्र पनि त्यसको प्रभावबाट मुक्त हुन सकेको देखिँदैन । वित्तीय क्षेत्रको महत्त्वपूर्ण अवयवको रूपमा रहेका लघुवित्त एवं सहकारीहरूमा रोगका लक्षणहरू बग्रेल्ती देखिन थालिसकेका छन् । विगत १५ वर्ष यता समस्याग्रस्त भएर डुबेका सहकारीको संख्या १ हजारभन्दा बढी रहनु र ती सबैमा डुबेको धनराशि १ खर्बभन्दा बढी भएको भन्ने आकलन गरिएको छ । यसले पनि सहकारीमा लागेको रोग कति गम्भीर हो भन्ने अनुमान गर्न सकिन्छ ।
वित्तीय संस्थाहरूको यस्तै नकारात्मक अवस्थाको परिणाम अहिले बैंकहरूको प्रतिफल क्षमतामा प्रतिबिम्बित भएको छ र आगामी दिनहरूमा यो क्रम अझ बढ्ने देखिन्छ ।
कतिपयले वित्तीय संस्थाहरूको पूँजीको आकार बढेर अर्थतन्त्रको आकारकै हाराहारीमा पुर्याइएको कारणले पनि अप्रत्यक्ष रूपमा बैंक तथा वित्तीय संस्थाहरूमा अहिलेको संकट निम्तिएको विश्वास गरेका छन् । उनीहरूको विचारमा पूँजी बढाउन लगानीकर्ताले एकातिर वित्तीय संस्थाहरूबाट नै ऋण लिन पुगे भने अर्कोतर्फ बढेको पूँजीअनुरूपको प्रतिफलका लागि बैंक तथा वित्तीय संस्थाहरूले ऋण तथा लगानी राशिलाई बृहद् अंकमा बढाउनु पर्ने बाध्यता रह्यो । यस्तो अवस्थामा कर्जाको गुणस्तरमा केही सम्झौता हुनु स्वाभाविक नै देखिन्छ । फलस्वरूप देशमा अहिले प्रवाह गरिएको कर्जा जीडीपीको १४० प्रतिशतभन्दा बढी रहेको छ । त्यसैको नकारात्मक प्रभाव अहिले ऋणी, बैंक एवं वित्तीय क्षेत्र हुँदै अर्थतन्त्रसम्म पुगेको मानिन्छ । यसरी उच्च कर्जा प्रवाहको कारण प्रणालीगत जोखिम निम्तिएको कुरा राष्ट्र बैंकले पनि स्वीकारेको छ ।
पूँजी बढाउन लगानीकर्ताले एकातिर वित्तीय संस्थाहरूबाट नै ऋण लिन पुगे भने अर्कोतर्फ बढेको पूँजीअनुरूपको प्रतिफलका लागि बैंक तथा वित्तीय संस्थाहरूले ऋण तथा लगानी राशिलाई बृहद् अंकमा बढाउनु पर्ने बाध्यता रह्यो । यस्तो अवस्थामा कर्जाको गुणस्तरमा केही सम्झौता हुनु स्वाभाविक नै देखिन्छ ।
कोभिड–१९ को महामारीपछि राष्ट्र बैंकले कतिपय क्षेत्रमा दिएको सहुलियत एवं अन्य क्षेत्रका लागि दिएको नीतिगत सुविधाको सदुपयोगको नाममा समेत अपेक्षितभन्दा बढी नै कर्जा प्रवाह हुन पुगी बैंक तथा वित्तीय संस्थाहरू तरलताको अभाव झेल्न बाध्य भए । परिणाम स्वरूप ब्याजदर वृद्धिले नयाँ रेकर्ड कायम गर्यो ।
एकातिर उच्च ब्याजदर त अर्कोतर्फ अर्थतन्त्रमा छाएको मन्दीको कारण नयाँ लगानीका ढोकाहरू, व्यापार व्यवसाय विस्तार गर्ने योजनाहरू प्राथमिकतामा पर्न छाडे र त्यसको चक्रीय असरका रूपमा कर्जाको मागमा फेरि कमी आउन थाल्यो । एकातिर महँगो दरको निक्षेप थुप्रिंदै गयो भने अर्कोतर्फ लगानीका क्षेत्र खुम्चँदै गए जसबाट बैंकहरू दोहोरो मारमा पर्ने नै भए ।
ठीक यसै बेला केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाको ब्याजदर चर्को भएको भन्दै ऋण नतिर्ने अराजक अभिव्यक्तिसमेत दिएर कतिपय व्यक्तिहरूलाई कर्जा नतिर्न समेत उक्साइरहेका छन् । यसरी कतिपय नियतवश ऋण नतिर्ने र कतिपय बाध्यताको कारण ऋणको साँवा ब्याज चुक्ता गर्ने असमर्थ भइरहेका कारण २ वर्ष अघिसम्म दक्षिण एसियामै सबैभन्दा कम १ दशमलव ७ प्रतिशत रहेको नेपालमा अहिले दिन प्रतिदिन बैंकको खराब कर्जा बढ्दै गएर प्रथम त्रैमासमा औसतमा ४ दशमलव १४ प्रतिशत कायम भएको छ ।
त्यसो त २०६२–६३ ताका खराब कर्जा ३० प्रतिशतको हाराहारी रहिसकेको भए तापनि सशस्त्र द्वन्द्व र जन आन्दोलनको उत्कर्षमा मुलुक पुगेको बेलाको समयसँग अहिलेको समयलाई किमार्थ तुलना गर्न सकिँदैन । यस अर्थमा बैंक एवं वित्तीय संस्थाहरू अहिले तरलता, उच्च ब्याजदर एवं खराब कर्जाको त्रिकोणात्मक समस्याले घेरिएका छन् भन्नु अत्युक्ति नहोला ।
साथै तीव्र गतिमा विकसित वित्तीय प्रविधि, वित्तीय अपराध एवं साइबर जोखिमजस्ता नवीनतम प्रविधिजन्य जोखिमको व्यवस्थापनका लागि आवश्यक पर्ने उच्चस्तरीय प्रविधिको अभाव जस्ता बहुपक्षीय अन्य समस्याहरूले समेत अहिलेका बैंक तथा वित्तीय संस्थाहरू जेलिएका छन् भन्न सकिन्छ ।
यस्ता विविध समस्या भोगिरहेका वित्तीय संस्थाहरू अहिले आन्तरिक रूपमा एकआपसमा गाभिएर निम्तिएका नवीन प्रकारका समस्याहरूसँग पनि जुधिरहेका छन् ।
बैंकहरूका परम्परा, कार्य संस्कृति एवं कार्यप्रणालीमा भएका भिन्नताका कारण कर्मचारीहरूमा देखिएको अन्तर्घुलनको समस्याले उनीहरूबाट अपेक्षाकृत प्रतिफल प्राप्त गर्न एकीकृत भएका कतिपय संस्थाहरू सफल देखिएका छैनन् । फेरि कतिपयमा दुई संस्थाका कर्मचारीहरू बीचको अन्तरसंघर्षले पनि समस्या निम्त्याइरहेको देखिन्छ । साझा संस्कृति र पूर्ण रूपमा कर्मचारी एवं कार्यप्रणाली एकाकार नहुन्जेल बैंक तथा वित्तीय संस्थाहरूको आन्तरिक समस्या समाधान हुने देखिँदैन ।
तर जे भए पनि विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता विभिन्न निकायहरूले आर्थिक दृष्टिले सन् २०२४ सुखद रहने प्रक्षेपण गरेको सन्दर्भमा अहिलेका आर्थिक र वित्तीय संकटहरू बिस्तारै समाधान हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
लेखक वित्तीय अपराध नियन्त्रणमा विश्व मापदण्ड र त्यसको नेपालमा उपयोग विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।
काठमाडौं । अमेरिकी खुद्रा कम्पनी बेड, बाथ एन्ड बियोन्डले गएको हप्ता टाट पल्टिएको भन्दै अदालती संरक्षणका लागि आवेदन दियो । महीनौंसम्मको उतारचढावपछि आफूलाई जोगाउने कुनै उपाय नभटेपछि कम्पनीले अप्रिल २३ मा न्यू जर्जीमा च्याप्टर ११ अन्तर्गत अदालती संरक्षण (bankruptcy protection) माग्यो ।
सन् २०२२ को पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ८० लाख डलर खूद घाटा बेहोरेको थियो । कम्पनीले सन् २०२२ को सेप्टेम्बरमा कम्पनीको खर्च घटाउन १५० ओटा स्टोर बन्द गर्यो । २० प्रतिशत कर्पोरेट कर्मचारीलाई कामबाट निकालिदियो । कम्पनी टाट पल्टिनुको पछाडि अनेकौ कारण थिए । सन् २००४ यता यसले आफ्नै शेयर 'बाई ब्याक'मा ११ अर्ब ८० करोड डलर खर्च गर्नु नै 'आफ्नो खुट्टामा बञ्चरो हान्नु' भयो ।
त्यो गलत निर्णयको प्रभावलाई न त स्टोर बन्दले कम गर्न सक्यो न त कर्मचारी कटौतीले नै उल्ट्याउन सक्यो । कम्पनीको पुनः शेयर खरीद कार्यक्रम अनौठो थिएन । कम्पनीले ती पैसा घ्यू लाग्ने अरु नै काममा खर्च गर्न सक्थ्यो । तर कम्पनीको स्थिति त्यति बेला खराब बन्यो जति बेला एक्टिभिष्ट लगानीकर्ता र गेमस्टपका अध्यक्ष र्यान कोहेनले जनवरीमा कम्पनीको ९ दशमलव ८ प्रतिशत शेयर बेचे ।
कम्पनी केही दिनमै सिद्धिने चेतावनी विश्लेषकहरुले त्यति बेलै दिएका थिए । नगद अभाव बेहोरिरहेको बेलामा यो गलपासो बनिदियो । यही गलत निर्णयका कारण बेड, बाथ एन्ड बियोन्ड सबै स्टोरहरु बन्द गर्न बाध्य भयो । व्यवसाय नै ठप्प हुने स्थितिमा आयो ।
न्यू जर्जीमा ५२ वर्ष अघि एउटा सानो स्टोरको रुपमा Bed Bath & Beyond खुलेको थियो । समय बित्दै गर्दा यो अमेरिकाको प्रमुख Retail Company बन्यो । हालै अमेरिकाको शेयर नियामक सेकलाई बुझाएको फाइलिङका अनुसार कम्पनीको ऋण ५ अर्ब २० करोड डलर मात्रै थियो ।
लगाउनु पर्ने ठाउँमा नलगाएर गलत ठाउँमा पैसा लगाउँदा के हुन्छ भनेर कम्पनीहरुले सिक्ने हो भने बेड, बाथ एन्ड बियोन्ड ज्वलन्त उदाहरण हो ।
तर यो कर्जाको भारी कम्पनीले झेल्न सकेन । Share Buyback मा वाहियात खर्च गर्दा कम्पनीले विक्री बढाउन चाहिएको इन्भेन्टरीका लागि समेत खर्च गर्न सकेन । लगाउनु पर्ने ठाउँमा नलगाएर गलत ठाउँमा पैसा लगाउँदा के हुन्छ भनेर कम्पनीहरुले सिक्ने हो भने बेड, बाथ एन्ड बियोन्ड ज्वलन्त उदाहरण हो ।
सन् २०१४ को जुलाईदेखि कम्पनी शेयर पुनः खरीदमा निकै सक्रिय थियो । यसका लागि यसले २ अर्ब डलरको ऋण नै उठायो । शेयर प्रदर्शन सुधार्न सक्रिय शेयरधनीहरुले दिएको दबाबका कारण पनि कम्पनी शेयर पुनः खरीद गर्न बाध्य थियो । त्यति बेला कम्पनीसँग निकै थोरै ऋण थियो ।
तर शेयर बाईब्याकका लागि कर्जाको थपिँदै जाँदा कम्पनीले सो भारी उठाउनै सकेन अनि अन्ततः लड्यो । कम्पनीले शेयर बाईब्याकमा खर्च गर्नुको सट्टा व्यवसायको विस्तरमा त्यत्रो पैसा लगाएको भए कम्पनी यसरी धराशयी हुने थिएन । सन् २०२२ को फेब्रुअरीसम्मै पनि कम्पनी आफ्नै शेयर पुनः खरीदमा सक्रिय थियो ।
फेब्रुअरीसम्मको तीन महीनामा यसले पुनः खरीद कार्यक्रममा २३ करोड डलर खर्च गरेको थियो । औसतमा हरेक शेयरका लागि उसले १६ डलर ४ सेन्ट खर्चियो । तर शेयर मूल्यलाई टेवा दिने उसको प्रयास खासै सहयोगी भएन । सन् २०१४ मा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८१ डलरको उच्चतम् बिनदुमा उक्लिएको थियो ।
गएको वर्षभर कम्पनीको शेयर मूल्य ८३ प्रतिशतले घट्यो । यो वर्षको अहिलेसम्मको अवधिमा शेयरको भाउ ८८ प्रतिशतले खस्किएको छ । कम्पनीले टाट पल्टिएको घोषणा गर्नु अघि शुक्रबार बेड, बाथ एन्ड बियोन्ड शेयर प्रतिकित्ता २९ सेन्टमा आएर बन्द भएको थियो ।
कम्पनीहरुले आफ्नै शेयर फेरि किन्नु नयाँ कुरा होइन । कम्पनीहरुले यस्ता कार्यक्रमहरुमा ठूलो रकम खर्च गर्ने गरेका छन् । यो वर्ष अमेरिकी कम्पनीहरुले शेयर पुनः खरीदमा १० खर्ब डलरभन्दा धेरै खर्चेका छन् । बेड, बाथ एन्ड बियोन्ड शेयर बाइ ब्याकमा अर्बौ डलर खर्च गर्ने पहिलो खुद्रा विक्रेता पनि थिएन । सियर्स होल्डिङ्ले सन् २००५ देखि सन् २०१८ को बीचमा टाट पल्टिए भनेर आवेदन दिएको अवधि बीचमा शेयर बाइब्याकमा ६ अर्ब डलर खर्च गरेको थियो ।
के हो शेयर बाइ ब्याक ?
कम्पनीले आफ्नै कम्पनीको शेयर किन्नु नै शेयर बाईब्याक अर्थात् शेयर पुनः खरीद हो । यो आफू जारी वा विक्री गरेको शेयर कम्पनीले आफै किन्ने पाउने व्यवस्था हो । यसलाई कम्पनीले शेयरधनीहरुलाई अप्रत्यक्ष रुपमा पैसा फिर्ता दिने तरिका भन्दा पनि हुन्छ । कम्पनीले कुनै त्रैमासमा १० करोड डलर कमायो अनि उसँग १० करोड डलरको आउस्ट्यान्डिङ शेयर छ भने । यसको कमाई प्रतिकित्ता शेयरमा १ डलर हुन्छ । उसले १ करोड कित्ता शेयर बाइ ब्याक गर्याे भने कम्पनीको कूल मुनाफा घट्दैन । तर प्रतिकित्ता शेयरमा कमाई चाँहि ११ प्रतिशतले बढेर १ डलर ११ सेन्टमा पुग्छ । एजेन्सीहरुको सहयोगमा
अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है !
सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ ।
विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ?
आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले ।
हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ ।
त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है !
तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि ।
त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी ।
कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने ।
आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् ।
त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ?
हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् ।
कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?