भदौ १४, बागलुङ । धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महीना ढिला भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शय्यालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ ।
कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७ सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।
अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि रू. तीन करोड बजेट विनियोजन गरेको थियो ।
प्लान्टका लागि बोलपत्र आह्वान गर्दा रू. दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कम्नीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए ।
चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रू. २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ थियो । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रू. ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।
अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शय्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस