ढकमक्क फुलेका लालीगुराँस र आँखैमा ठोकिने माछापुच्छ्रे हिमाल ल्वाङ गाउँबाट यतिबेला रोमाञ्चक देखिन्छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङको चियाबारीको मम्मुखमै माछापुच्छ्रे देखिन्छ । चियाबारीबाट देखिएको माछापुच्छ्रे र अन्नपूर्णसँगै ढक्मक्क फुलेको लालीगुराँसले यहाँ पुग्ने जो कोहीलाई लालायित बनाउँछ । चियाबारी पुगेपछि लालीगुराँस, अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न पाइने भएकाले पनि पोखरा आएका पर्यटक यहाँ पुग्न प्रयास गर्छन् । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ । यस गाउँको हरेक ऋतुमा घुम्न मिल्ने विशेषता छ ।