जेठ ३, काठमाडौं । लाभांश संशोधन सार्वजनिक गरेकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको भन्दै कारोबार रोक्का गरेको हो ।
कम्पनीलाई पत्रचार गर्दै के कति कारणले समयमै जानकारी दिन नसकिएको हो ? सो सम्बन्धमा तीनदिनभित्र स्पष्टिकरण पेश गर्न समेत नेप्सेले भनेको छ ।
विन नेपाल लघुवित्तले वैशाख २९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम यस वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश दिने सूचना वैशाख ३० गते नेप्सेलाई दिएको थियो ।
कम्पनीले प्रस्तावित लाभांश पारितका लागि जेठ २० गते वार्षिक साधारण सभा आह्वान गर्दै जेठ ३ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको हो । सूचीकृत कम्पनीहरुले बुक क्लोज सम्बन्धी जानकारी कम्तिमा सात दिन अगाडि नेप्सेलाई दिनुपर्ने व्यवस्था धितोपत्र सूचीकरण विनियमावलीमा रहेको छ ।
सो व्यवस्था अनुसार कम्पनीले जानकारी नगराएकाले कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।