मकवानपुरकी ४२ वर्षीया सरिता थिङको कुवेतमा मृत्यु

खुम रायमाझी/कुवेत ।। कुवेतमा महिला कामदारको रूपमा कार्यरत मकवानपुर काँकडा–१ चुरियामाई घर भएकी ४२ वर्षीया सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भएपछि अस्पतालमा भर्ना भएकी उनको १० जनवरी २०२१ का दिन मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार सरिता थिङको ग्यास्ट्रिक बिग्रिएर अल्सर भइसकेकाले आदान अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएको बताउनुभएको छ । मृतक सरिताको कुवेतमा रेकर्ड हेर्दा उनी विरुद्द दुई वर्षअघि घरबाट भागेको (भगौडा) मुद्दा रहेको देखिन्छ । उनी अवैधानिक रूपमा लुकेर काम गर्दै आएको र भारतीय बाटो हुँदै कुवेत प्रवेश गरेको देखिन्छ । मृतकको परिवारसँग सम्पर्क भएको र शव पठाउने सन्दर्भमा कानुनी प्रक्रिया पनि सुरु गरिएको छ । तर सरिता थिङ स्पोन्सरबाट भागेको र श्रम नगरी आएका कारण शव नेपालसम्म पुर्याउन लाग्ने खर्च मृतकको परिवार वा सहयोगीहरूको सहयोगमा मात्र सम्भव हुने बताइएको छ ।