भारतबाट गहुँ आयात नहुँदा फ्लोर मिल बन्द हुने अवस्थामा

काठमाडौं । भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पिठोका साथै चोकरको अभाव हुन सक्ने भन्दै फ्लोर मिल सञ्चालकले चिन्ता व्यक्त गरेका छन् । नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै धान्न सक्ने उद्योगीले […]

सम्बन्धित सामग्री

भारतमा गहुँको भाउ बढ्दा नेपालमा असर

विराटनगर। दशैंअघि नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ ।  भारत सरकारले नेपालमा ३ लाख मेट्रिक टन गहुँ निकासी गर्ने कोटा स्वीकृत गरे पनि अहिलेसम्म १ लाख टन मात्र आएको छ । अहिले भारतमै गहुँको माग धेरै भएकाले मूल्य बढेको छ । नेपाललाई कोटा दिँदा भारतमा गहुँको मूल्य प्रतिकिलो भारू २३ रहेकोमा अहिले भारू २८ पुगेको छ । नेपाल  फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकासकुमार बेगवानीले अहिले नेपालकै गहुँको मूल्य वृद्धिले आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको बताए । भारतबाट आयात हुन बाँकी कोटाको गहुँको पनि भाउ बढिसकेकाले गहुँजन्य उत्पादनको मूल्य अझै माथि जाने उनको भनाइ । बेगवानीका अनुसार भारतमा भारु २८ परेको गहुँको लागत नेपाल आइपुग्दा ५५ रुपैयाँ पुग्छ ।  नेपालमा गहुँको मूल्य किलोमा ५ रुपैयाँ बढ्दा मैदा, आँटा, सुजी र चोकर किलोको १० रुपैयाँ महँगिइसकेको छ । गहुँको लागत ५५ रुपैयाँ पुग्दा मैदा, आँटा, चोकर र सुजीको भाउ थप १० रुपैयाँ बढ्ने बेगवानीले बताए ।  भारतको सरकारी स्वामित्वको फुड कर्पोरेशन अफ इन्डियाले गहुँको मौज्दात घटेको भन्दै मूल्य बढाएको हो । भारतमा आगामी वर्ष निर्वाचनसमेत रहेकाले किसानले फसलबाट बढी रकम पाउन् भन्ने उद्देश्यले कर्पाेरेशनले मूल्य बढाइदिएपछि अहिले भारतीय बजारमा समेत गहुँको अभाव सृजना भएको बताइन्छ । कोटाको गहुँ उत्तरप्रदेश, मध्यप्रदेश र पञ्जाबबाट समेत ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढ्ने बेगवानीले बताए ।  एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमुद दुगडले भैरहवा, वीरगञ्ज र नेपालगञ्जमा पनि गहुँको मूल्य बढेको बताए । दशैंअघिसम्म क्वीन्टलको २ हजार ९०० रुपैयाँ रहेको गहुँको भाउ दशैंलगत्तै ३ हजार २०० रुपैयाँ पुगेको उनले बताए । यसले गहुँबाट बन्ने सबै उत्पादनको मूल्य १५ प्रतिशत बढाएको दुगडले जानकारी दिए । उनले भारतमा पनि गहुँको भाउ बढेकाले आयातको गहुँले समेत उत्पादनको मूल्य बढाउने बताए । भारतबाट कोटामा आएको १ लाख टन गहुँ र नेपालमै मौज्दात रहेको गहुँको कारण बीचका केही महीना आफूहरूले घाटामा उत्पादन विक्री गरेको उनको दाबी छ । भारतबाट आउन बाँकी कोटाको २ लाख मेट्रिक टन गहुँ तिहारपछि आउन थाल्ने उनको भनाइ छ ।  गोमती फुड्सका सञ्चालक हरिवंश राठीले नेपाली गहुँ वैशाख पहिलो साताबाट मात्रै बजारमा आउने भएकाले अझै ६ महीनालाई पुग्ने गरी भारतबाट गहुँ ल्याउनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार नेपालमा रहेका ४० ओटा मैदा मिल र ३० ओटा साना आँटा मिलले वार्षिक ९ लाख मेट्रिक टन गहुँ खपत गर्छन् । नेपालमा वार्षिक ३ लाख टन गहुँ उत्पादन हुन्छ ।

भारतबाट १७ हजार टन गहुँ ल्याउने म्याद थपियो

विराटनगर । भारत सरकारले पहिलो खेपमा नेपाल निकासी गर्न छुट्ट्याइदिएको ५० हजार मेट्रिक टन गहुँमध्ये व्यापारीको भागमा परेको १६ हजार ९५१ टन मार्च ३१ भित्र ल्याइसक्नुपर्ने गरी समयसीमा तोकिएकोमा भारतीय दूतावासले मे ३१ सम्म समय थपिदिएको छ । उद्योगीको भागमा परेको ३३ हजार ४९ टन गहुँ यसअघि नै नेपाल भित्रिसकेको छ । सोही गहुँको कारण यहाँ आँटा, मैदा र चोकरको मूल्य घटेको छ ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वितरण गरेको कोटामध्ये २२ व्यापारिक फर्मले गहुँ ल्याउन बाँकी छ । मोरङ व्यापार संघका पदाधिकारीले भारतीय राजदूत नवीन श्रीवास्तव विराटनगर आएको बेला सोको समयसीमा थप गरिदिन आग्रह गरेका थिए । संघले समयसीमा बढाउन भारतीय दूतावासमा पत्राचार पनि गरेको थियो । सोही आधारमा दूतावासले व्यापारीले ल्याउन बाँकी झन्डै १७ हजार टन गहुँ आयातको समयसीमा दुई महीना थपिदिएको हो । नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले भारतीय दूतावासको प्रयासले नेपालमा भइरहेको गहुँको अभाव केही हदसम्म कम गरेको बताए । मार्च ३१ सम्ममा गहुँ आयात नगरे ल्याउनै नसक्ने अवस्था रहेको पनि उनले बताए । नेपालमा अहिले गहुँको मूल्य प्रतिकिलो ४८ रुपैयाँ छ । भारतबाट गहुँ आउनुअघि यसको मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो । भारतमा अहिले ३८ रुपैयाँ किलोमा गहुँ पाइन्छ । यसअघि भारतमा पनि गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ जति पर्थ्यो । अबको १० दिनपछि नेपाल र भारतीय बजारमा नयाँ गहुँ आउँछ । त्यसपछि नेपालमा मूल्य प्रतिकिलो ४० रुपैयाँ र भारतमा ३२ रुपैयाँ कायम हुने अपेक्षा एशोसिएशनले गरेको छ । भारतबाट गहुँ आएपछि नेपालमा ९० रुपैयाँ पुगेको प्रतिकिलो आँटाको मूल्य घटेर ७० रुपैयाँ कायम भएको छ । मैदाको मूल्य प्रतिकिलो ८५ रुपैयाँबाट ६७ रुपैयाँमा ओर्लेको छ । चोकरको मूल्य ५६ रुपैयाँ किलोबाट ४४ मा झरेको छ । नयाँ गहुँ बजारमा आएपछि मूल्य अझै तल ओर्लने सचिव बेगवानीले बताए । एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले मुलुकमा आगामी दिनमा गहुँ अभाव हुन नदिन भारत सरकारसँग चार लाख टन माग गर्नुपर्ने बताए । नेपाली उत्पादनले मुश्किलले पाँच महीना धान्ने भएकाले बाँकी समयको लागि तत्कालै माग गर्नुपर्ने उनको भनाइ छ । भारत सरकारलाई कोटा तोक्न लगाएर आयात गर्दासम्ममा दुई महीना लाग्ने भएकाले सरकारले समयमै पहल गर्नुपर्ने उनको भनाइ छ ।