खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि च्याङ्ग्रा नल्याउने भएको छ । हरेक वर्ष काठमडौँ उपत्यकामा खपत गराउन च्याङ्ग्रा ल्याउँदै आएको कम्पनीले यसवर्ष भने नल्याउने भएको हो ।कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालका अनुसार हिमाली जिल्लामै च्याङ्ग्रा महँगो पर्ने भएकाले काठमाडौँ नल्याउने निर्णय गरिएको हो । कोरोनाका कारण यसवर्ष चिनियाँ च्याङग्रा नआउँद्या स्वदेशी च्याङ्ग्रा महँगो भएको कम्पनीको अनुमान छ ।तिब्बतबाट च्याङ्ग्रा नआउँदा मनाङ र मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य बढेका कारण किन्न नसकिएको कम्पनीले जनाएको छ । मुस्ताङमा अहिलेको च्याङ्ग्राको मासु प्रतिकिलो १ हजारभन्दा बढी छ । यसअघि खसीबोका २ हजार र च्याङग्रा १ हजार ल्याउने निर्णय गरेको गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अब २ हजार खसीबोका मात्रै ल्याउनेछ । मूल्य वृद्धि रोक्न मात्रै खाद्यले खसीबोक ल्याउने गरेको हो । दशैँमा काठमाडौँमा ५० हजार खसीबोका खपत हुने गर्छन् ।