महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम

चितवन। पूर्वी चितवनको रत्ननगरमा महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम दिइएको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत ब्यूटीपार्लर र सिलाइकटाइको एड्भान्स तालीम सञ्चालन गरिएको हो । गत बिहीवारदेखि सञ्चालित तालीमको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले गरेका थिए । सो अवसरमा उनले ब्यूटीपार्लर र सिलाइकटाइ तालीम पूरा गरेका महिलालाई व्यवसाय सञ्चालनका लागि ‘मेयरसँग उद्यमशीलता’ कार्यक्रमअन्तर्गत विनाब्याज ३ लाख रुपैयाँ ऋण प्रदान गर्न सकिने बताए । नगरको गरीबी निवारणका लागि मेड्पा कार्यक्रमको बजेट घटेर आएपछि नगरपालिकाले बजेट थप गरी शीपमूलक तालीम शुरू गरेको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सन् २०३० सम्ममा गरीबी न्यूनीकरण गर्ने सरकारको लक्ष्य पूरा गर्न लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको बताए । तीनमहीने ब्यूटिपार्लरको एड्भान्स तालीममा वडा नं ३, ९ र १५ का २२ जना र सिलाइकटाइ तथा डिजाइनिङ तालीममा सोही वडाका १८ जनाको सहभागिता रहेको मेडपा कार्यक्रम संयोजक रामप्रसाद बस्ताकोटीले जानकारी दिए । गतवर्ष आधारभूत तालीम लिएका महिलाका लागि एड्भान्स तालीम दिइएको हो ।

सम्बन्धित सामग्री