चितवन (अस) । कामना सेवा विकास बैंकले १५ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाबाट विभिन्न स्थानमा सामाजिक कार्य गरिएको हो । बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक २२ गते हेटौंडा शाखाले वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ । हेटौंडा–२ मा रहेको ओम वृद्धाश्रममा ७ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।
कात्तिक २३ गते बैंकको शारदानगर शाखाले स्थानीय प्रहरी चौकीलाई एक थान टेबुल उपलब्ध गराएको छ । कात्तिक २४ गते कावासोती शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा ५२ जनाले रक्तदान गरेको भण्डारीले जानकारी दिए । कात्तिक २६ गते खुरखुरे शाखले स्थानीय चोकमा डस्टबिन वितरण गरेको छ । बैंकका कर्मचारीले कात्तिक २७ गते वार्षिकोत्सवका दिन गैंडाकोटको धार्मिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसर र मन्दिर जाने बाटोको सरसफाइ गरेका छन् । बैंकको नारायणगढ क्षेत्रअन्तर्गत १४ शाखा छन् ।