दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन ।
वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिनुुभयो ।
पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सद स्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो । स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिनुुभयो । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उहाँको भनाइ छ ।
ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ ।
लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । उपनिर्देशक रजौरेले भन्नुुभयो “चिनियाँ टोली नेपाल आउने तयारीमा छ, अब छिट्टै ड्रिल औजार आउँछ, अन्तिम रिपोर्ट सकारात्मक छ, आगामी वर्षापछि ड्रिलको काम सुरु हुन्छ । ”