जनकपुरधाम। आर्थिक वर्ष (आव) २०७९/८० सम्म नेपाल विद्युत् प्राधिकरण जनकपुरधाम वितरण केन्द्रको बाँकी बक्यौता ३४ करोड ३६ लाख ६८ हजार रुपैयाँ देखिएको छ । तर वितरण केन्द्रले बक्यौता उठाउन अभियान चलाएर लामो समयसम्म महशुल नबुझाउने १ हजार ८६८ ग्राहकबाट गत आवमा ११ करोड ६ लाख २६ हजार रुपैयाँ असुली गरेको जानकारी दिएको छ ।
वितरण केन्द्रले गत आवमा १ अर्ब ३४ करोड ८१ लाख ८ हजार ६१८ युनिट विद्युत् प्राप्त गरेकोमा १० करोड ४० लाख २४ हजार १३० युनिट विद्युत् विक्री गरेको छ । विद्युत् विक्रीबाट केन्द्रले १ अर्ब ८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको बताएको छ ।
वितरण केन्द्रअन्तर्गत ७० हजार ६९२ ग्राहक रहेका छन् । केन्द्रले गतवर्ष चुहावट नियन्त्रण अभियान चलाएर हाल चुहावट २२ दशमलव ६२ प्रतिशत कायम गरेको जानकारी दिएको छ । वितरण केन्द्रले चालू आर्थिक वर्षदेखि ५५ करोड रुपैयाँ बराबरको पूर्वाधार कार्यक्रमका लागि स्थानीय तहसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण कार्यक्रम शुरू गरेको छ । उक्त कार्यक्रमअन्तर्गत स्थानीय तहले आफ्ना पालिकाभित्रका किसानलाई नि:शुल्क बिजुली दिने र सिँचाइ महशुल तिरिदिने बताइएको छ । विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका अनुसार हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहटका ८० स्थानीय तहले सिँचाइ सुविधा नि:शुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।
सिँचाइ मिटर प्रयोगकर्ता किसानलाई न्यूनतम प्रतियुनिट २ रुपैयाँका दरले मात्र महशुल लाग्ने नीति प्राधिकरणले लिएको छ । प्राधिकरणले विद्युतीकरण, शुद्धीकरण कार्यक्रमको लागि ५ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत पोलबाट विद्युत् हुकिङ गर्ने, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन, विद्युत् रिडिङमा सुधार लगायत कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रम सञ्चालनमा आएपछि प्राधिकरणको सेवा विस्तार प्रणालीमा शुद्धीकरण भई निरन्तर चुहावट घट्दै गएको प्राधिकरणकोभनाइ छ ।