काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण धितोपत्र बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रिमियममा आईपीओ जारी गर्ने घोषणा गरेको हो ।
कम्पनी आफै पनि सरकारसँग स्वीकृति लिएर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको थियो । सरकारले बजेटमार्फत नै प्राधिकरणको आईपीओलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणको पूँजीवृद्धिको स्वीकृति सरकारले दिनुपर्ने व्यवस्था ऐनमा छ । ऐनमा प्राधिकरणको शेयरपूँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । हाल प्राधिकरणको चुक्तापूँजी रू. १ खर्ब २ अर्ब ४४ करोड छ ।
विगतमा वार्षिक घाटा र सञ्चित नोक्सानीमा रहेको प्राधिकरण केही वर्षयता नाफामा गएसँगै आईपीओ निष्कासन गर्ने योजनामा पुगेको हो । आर्थिक वर्ष २०७२/७३ मा रू. ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो वित्तीय तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १२ अर्ब १२ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा रू. ६ अर्ब १८ करोड थियो ।
चालू आवको पहिलो ६ महीनामा सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन प्राधिकरण सफल भएको छ । यस वर्ष विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वृद्धि र अन्य आय बढेकाले नाफा उत्साहजनक रहेको प्राधिकरणको भनाइ छ ।
सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासँगको विद्युत् खरीददर निजीक्षेत्रका अन्य आयोजनाको तुलनामा केही सस्तो भएकाले पनि यस वर्ष नाफा बढेको प्राधिकरणले बताएको छ । प्राधिकरणले चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी आगामी दिनमा रू. १५ अर्बभन्दा बढी नाफा गर्ने उद्देश्यका साथ काम गरिरहेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैक जस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ । गत फागुनमा प्राधिकरणको क्रेडिट रेटिङ भएको थियो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको संकेत गर्ने ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको थियो । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ऋण भुक्तानी जोखिम निकै कम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको शाखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको संकेत दिएसँगै प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण लिन सक्ने बाटो खुला भएको छ ।
नेपाल विद्युत् प्राधिकरण जस्तो कम्पनी धितोपत्र बजारमा भित्रिँदा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताको छ । लगानीकर्ता नयन बास्तोलाले सरकारकै स्वामित्वमा सञ्चालित यस्ता कम्पनीले पनि बजारमा प्रवेश बढाए बजारप्रति लगानीकर्ताको विश्वास बढ्ने बताए । पूँजीबजारको विविधीकरणको विषय बजेटमै उल्लेख भइरहँदा फरक खालका कम्पनीको धितोपत्र सूचीकृतका लागि आवश्यक वातावारण बन्नुपर्ने माग उनको छ । धितोपत्र बजारमा हाल बैंक तथा वित्तीय संस्थाहरूको मात्र बाहुल्य रहेकोमा प्राधिकरणजस्ता सरकारी स्वामित्वका अन्य कम्पनी पनि भित्रिए बजारको सौन्दर्य बढ्ने विश्वास उनको छ ।