रुकुमपूर्व । रुकुम (पूर्व)का तीनओटै स्थानीय तहले सफ्टवेयर प्रणलीमार्फत राजस्व संकलन शुरू गरेका छन् । भूमे, पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणालीमार्फत राजस्व संकलन थालेका हुन् ।
भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले इन्टरनेटको समस्या समाधान गरी सबै वडामा यो प्रणाली लागू गर्ने अभियानमा गाउँपालिका लागिपरेको बताए । सो गाउँपालिकाले चालु आर्थिक वर्षमा ६१ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै पुथाउत्तरगंगाले राजस्व संकलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्देश्यका साथ सफ्टवेयर प्रणालीको प्रयोग गरेको गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सबै वडामा नियमित रूपमा इन्टरनेट सुविधा नहुँदा भने यो प्रणाली कार्यान्वयनमा चुनौती देखिएको गाउँपालिकाले बताएको छ ।
सिस्ने गाउँपालिकाले पनि यही पुस १ गतेदेखि सफ्टवेयर प्रणालीमार्फत राजस्व संकलन सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए । राजस्व प्रणालीमा एकरूपता ल्याई राजस्व संकलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सफ्टवेयरमार्फत राजस्व संकलन शुरू गरिएको उनले बताए । गाउँपालिकाले चालू आवमा एक करोड १० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
सफ्टवेयरबाट राजस्व संकलन गर्न जिल्लाका ३१ ओटै वडाका वडा सचिव, एमआईएस फिल्ड सहायक र कम्प्युटर अपरेटरलाई तालिम दिइएको छ । तीनओटै पालिकामा गाउँपालिकाको आयोजना र सफ्टटेक इन्फोसिस प्रालि काठमाडौंको प्राविधिक सहयोगमा वडा सचिव र अन्य कर्मचारीलाई तालिम प्रदान गरिएको हो । यसअघि हस्तलिखित रसिदको प्रयोग गरी राजस्व संकलन गर्दै आएकोमा विद्युतीय प्रणालीले राजस्व संकलन सहज हुने विश्वास गरिएको छ । रासस