कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किने नेपालीको ठूलो भीड छ । उनीहरूको अनुहारमा दसैं मनाउन पाउने खुसी छचल्किएको छ । ठूल्ठूला झिटीगुन्टा बोकेर घर पुग्ने हतारमा दौडिरहेकाहरूको भीडमा पिठ्युँमा झोला बोकेर भारत पस्नेहरू पनि छन् । उनीहरू खिन्न देखिन्छन् । मलिन अनुहारका उनीहरू दसैं भित्रिँदै गर्दा रोजगारीका लागि मुलुकबाट बाहिरिँदै गरेका हुन् ।