फागुन १२, काठमाडौं । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बुधवार ७२ सिटे थप एउटा जहाज ल्याएको छ ।
योसँगै कम्पनीसँग जहाजको जम्मा संख्या १६ पुगेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्न थालेको कम्पनीले थप एक एटीआर- ७२ जहाज भित्र्याएको हो ।
कलसाइन ९ एन- एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर आगामी दुई साताभित्र उडान सेवा दिने कम्पनीले बताएको छ । कम्पनीसँग हाल ११ ओटा एटीआर- ७२, तीन ओटा एटीआर- ४२ र दुई ओटा बिचएयरक्राफ्ट जहाज छन् ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध रहेको उल्लेख छ । कम्पनीले गत जनवरी महीनादेखि अन्तरराष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ ।
कम्पनीले नेपालमै ६ महीना अवधि बसाई गरेका अन्तरराष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्रयाउन ठूलो मद्दत गर्ने भन्दै विज्ञप्तिमा यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्ने उल्लेख छ ।