काठमाडौं (अस) । नागरिक लगानी कोषले महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
महामारी सुरुआतदेखि कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले हकवालालाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय कोषले गरेको थियो ।
०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेलाई उक्त रकम उपलब्ध गराइँदै आएको कोषले बताएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएका ८४ जना हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कम्पनीका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषमा सहभागी बुटवलका कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे ।