काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्रीमा ल्याएको हो । बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ ।
कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिने आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ ।
यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतकाे लगानी छ ।
हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ ।सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला