मण्डनदेउपुर नगरपालिका १० दिन सिल : बनेपा र पनौतीमा ५ दिन थप

जेठ १२, पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा बुधवारदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि बुधवारदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जानकारी दिएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शृंखला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जानकारी दिएको हो । ‘औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि बुधवारदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ । संक्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । बनेपा, धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगर, मण्डनदेउपुर नगर, रोशी गाउँपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जानकारी दिएका हुन् ।  पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महीना अनुमति खारेज गरी रू. ५० हजार जरिवानासमेत गर्ने जानकारी दिएको छ । साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् ।  सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवम् प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लामा १० दिन निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।  यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३३१ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ४९९ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ६४० सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २२ प्रतिशत अर्थात् ५८१ संक्रमित छन् ।  कुल संक्रमितमध्ये धुलिखेलमा ४७०, पनौतीमा ४६१, पाँचखालमा ३२५, नमोबुद्धमा १६९, मण्डनदेउपुरमा १६९ तथा रोशी गाउँपालिकामा ९७, चौँरीदेउरालीमा ६४, तेमालमा ५२, भुम्लुमा ८६, खानीखोलामा ३९, बेथानचोकमा ८५ र महाभारत गाउँपालिकामा ४२ सक्रिय संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ ।  कुल संक्रमितमध्ये ९४ दशमलव ५८ प्रतिशत अर्थात् दुई हजार ४९७ संक्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ११४ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

सम्बन्धित सामग्री

काभ्रेका ४ ओटा स्थानीय तह कोरोनामुक्त

असोज ४, काभे्रपलाञ्चोक । काभे्रपलाञ्चोकका चार ओटा स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण देखिएको छैन ।  कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक संक्रमित रहेको  जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जानकारी दिएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको हो । आइतवार २६ र शनिवार १५ संक्रमित संक्रमणमुक्त भएका छन् ।  काभ्रेमा ६ नगर र ७ गाउँपालिका छन् । जिल्लामा हाल १०१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ  ।  केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ४६२ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १६९ संक्रमणमुक्त भइसकेका छन् । गत भदौ महीनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ ।  जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा यही असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । रासस