शिक्षालयको अनियमितता छानबिन शुरू

डोटी । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा छानबिन शुरु गरिएको छ । शिक्षालयमा आर्थिक लगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले धामीको नेतृत्वमा छानबिन समिति खटाएको हो । समितिले मंगलबारबाट आफ्नो काम […]

सम्बन्धित सामग्री

बीपीमा अख्तियारको छापा : खरीद तथा निर्माणसम्बन्धी फाइल नियन्त्रणमा

धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितताको विषय चर्को रूपमा उठ्नान हुन थालेपछि अख्तियारको चासो बढेको छ । उक्त विषयमा छानबिन अघि बढाउने पहलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय सहित क्षेत्रीय कार्यालय इटहरीको टोलीले विहीबार प्रतिष्ठानमा छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा पाँचजना तथा इटहरीस्थित क्षेत्रीय कार्यालयको समन्वयमा दुई जनासहित सातसदस्यीय टोली प्रतिष्ठान आएको हो । टोलीले खरीद तथा निर्माणसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको छ भने विभिन्न शाखा तथा महाशाखा प्रमुखहरूसँग सोधपुछ गरेको छ । प्रतिष्ठानमा भएका खरीद, निर्माण तथा विद्युत् आपूर्ति लगायत विषयमा छानबिन शुरू गरिएको एसएसपी तामाङले बताए । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीले काम सम्हालेपछि अनियमितता एवं भ्रष्टाचार बढेको तथा अन्य पदाधिकारीले समेत प्रतिष्ठान चुस्त दुरुस्त सञ्चालन गर्न नसकेको भन्दै सम्बद्ध चिकित्सक तथा कर्मचारीले आन्दोलन गरेकाले पनि अख्तियारको ध्यान केन्द्रित भएको बताइएको छ । बीपी प्रतिष्ठान शुद्धीकरणका लागि कर्मचारी, चिकित्सक, विद्यार्थी, विभिन्न फ्याकल्टी, नर्स लगायतको संयुक्त आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले नियमविपरित विभिन्न उपकरण खरीद तथा आफूखुशी क्वार्टर मर्मतको नाममा खर्च गरेको लगायत विषयमा समेत टोलीले छानबिन गर्ने अख्तियार स्रोतले बताएको छ ।

बीपी आन्दोलन : उच्चस्तरीय अध्ययन कार्यदलले थाल्यो छलफल

धरान । विगत ३५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी ‘बीपी शुद्धीकरण अभियान’ अन्तर्गतको आन्दोलन निकासतर्फ प्रवेश गरेको छ । प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा सहित अनियमितता सुधारको माग गर्दै आन्दोलित संयुक्त संघर्ष समितिसँग सोमवार उच्चस्तरीय अध्ययन कार्यदलले अध्ययन शुरू गरेपछि आन्दोलन टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरी छलफलमा बसेपछि संघर्ष समितिले उनी लगायत चार उच्च पदाधिकारीको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दैै आएको थियो । आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले अध्ययन शुरू गरेपछि संघर्ष समितिले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएको छ । माग पूरा नभएसम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा भने चलिरहने समितिका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । ‘सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठनपछि सकारात्मक बनेका छौं, यसले निकास दिने विश्वास छ ।’ पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितिले कार्यदललाई आफ्ना मागहरूको बारेमा जानकारी गराएको उनले बताए । कार्यदलले सोमवार नै प्रमुख पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मीसँग छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा. शंकर नेपालले बताए । संघर्ष समितिसहित पदाधिकारी, नागरिक समाजसँग समेत छलफल गरेर विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गरिने उनको भनाइ छ । प्रतिष्ठानका उपकुलपति गिरीले वार्ताका लागि पटक पटक आह्वान गर्दा पनि संघर्ष समितिले उच्चस्तरीय वार्ता समितिसँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते भएको वार्ता भाँडिएको थियो । संयुक्त संघर्ष समितिले गत बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पूरा नभए आइतवारदेखि दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको चेतावनी दिएको थियो । बीपीका लेखाप्रमुखलाई कारबाही गर्न माग यसैबीच, चिकित्सकलाई दुव्र्यवहार गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारी लगायत आन्दोलित भएका छन् । संयुक्त संघर्ष समिति गठन गरी शुद्धीकरणको आन्दोलन चर्किरहेको बेला  प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई प्रतिष्ठानकै लेखा प्रमुखले गालीगलौज गरी धाकधम्की दिएको भन्दै जुनियर रेजिडेन्ट समेत आक्रोशित भएका छन् । उनीहरूले सोमवारदेखि प्रतिष्ठानको आकस्मिक र कोभिड उपचार बाहेक अन्य सेवा ठप्प पार्दैै दुव्र्यवहार गर्ने रायमाझीविरुद्ध कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । आइतवार राति ८ बजे प्रतिष्ठानका डीएम र एमडी अध्ययनरत विद्यार्थी डा. विप्लप कार्कीलाई आवास खाली गराउन लेखा प्रमुख रायमाझीले दिएको धम्की र गालीगलौज विरुद्ध सम्पूर्ण चिकित्सक आन्दोलित बनेका हुन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरूप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ ।