जेठ २, टोकियो (जापान) । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको आपतकाल थप तीन ओटा प्रिफेक्चरमा विस्तार गरेको छ ।
संक्रमितको संख्या बढेर स्वास्थ्य उपचार प्रणाली दबाबमा आएपछि होक्काइदो, ओकायामा र हिरोशिमामा आइतवारदेखि आपतकाल शुरु भएको हो । पछिल्ला दिनहरुमा यी तीन ओटा प्रिफेक्चरमा दैनिक संक्रमितको संख्या उच्च दरमा बढिरहेको छ ।
यसअघि केन्द्र सरकारले अप्रिल २५ मा १७ दिनको लागि टोकियो र अन्य तीन ओटा प्रिफेक्चरमा आपतकाल लगाएको थियो । तर सो अवधिमा ती क्षेत्रमा संक्रमितको संख्या खासै नघटेपछि आपतकालको म्याद थपेर यस महीनाको अन्त्यसम्म पुर्याइयो अनि थप तीन ओटा प्रिफेक्चरमा पनि यसलाई लागू गरियो ।
आपतकालअन्तर्गत प्रिफेक्चरभर स्थानीय बासिन्दाहरुलाई अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान अनुरोध गरिएको छ । रेष्टुराँ र बार लगायतका व्यवसायहरुलाई सञ्चालन अवधि कम गर्न भनिएको छ ।
रक्सी बेचबिखन गर्ने र काराओके (गीत गाउने बार) पूर्णतः बन्द गर्न भनिएको छ । संक्रमण बढेकाअन्य केही प्रिफेक्चरले पनि आफ्नो क्षेत्रमा आपलकाल लगाइदिन केन्द्र सरकारलाई अनुरोध गरेका छन् । एजेन्सी