चितवन। पूर्वी चितवनको रत्ननगर–१ सौराहाचोकस्थित साहारा सुपर मार्केटमा आइतवार राति आगलागी भएको छ । आगलागीबाट सुपर मार्केटमा रहेका तीनओटा पसलमा क्षति भएको बताइएको छ ।
आगलागीबाट ८० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सुपर मार्केटभित्र रहेको सुहाना फेसन कलेक्सन पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट पसलमा रहेका कपडा, एसी, फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएको हो ।
आगलागीबाट सुपर मार्केटमै रहेका कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेटमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । विद्युत् चुहावट भएर राति ११ बजेबाट शुरू भएको आगलागी साढे १२ बजे दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।