दार्चुलाबाट सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अत्याधिक रक्तश्राब भएपछि व्यास गाउँपालिका–५ का एक सुत्केरी महिलाको उद्धार गरिएको हो ।
जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया सोभा विष्टको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राब नरोकिए पछि थप उपचारको लागि धनगढी रेफर गरिएको थियो । धनगढीमा आइसियु बेड खाली नरहेकाले उपचारका लागि सुर्खेत लगिएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा महिलाको उद्धार गरिएको बताइएको छ । नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यसअघि पनि दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।