प्रशासन सुधारको आन्तरिक संयन्त्र स्वयं व्यवस्थापन हो । प्रशासकीय प्रणालीभित्रबाट सुधार, परिमार्जन र परिवर्तनका निरन्तर प्रक्रिया स्वचालित गरिएको सुधार स्थायी र स्वामित्वबोधी हुन्छ । व्यवस्थापन स्वयंले आफू कार्यपरिवेश र सेवाग्राहीको सम्भावना, सीमा, आवश्यकता र अपेक्षा पनि बुझ्न सक्छ । यस परिवेशमा सुधारले निरन्तरको गति समात्छ । बाह्य समाजबाट मागिएको, सुझाइएको सुधारलाई व्यवस्थापनले सम्मति नदिँदा विस्तारै पन्छिन पुग्छ, प्रतिरोध गर्छ र प्रशासन पुनः पछिल्तिर धकेलिन्छ । त्यसैले प्रशासन सुधारका आयोग, कार्यदल, समितिजस्ता तदर्थ प्रक्रियालाई त्यति राम्रो मानिँदैन । फेरि प्रशासनका पार्टपुर्जाहरू योग्यता, क्षमता, सीप र अनुभवका संयोजित रूप भएकोले पनि तदर्थ संरचनाबाट सुधारका उपाय खोजिनु राम्रो हँुदैन ।
खास अवस्थामा प्रशासनमा सानातिना सुधार गरेर पुग्दैन । प्रशासनिक परिवर्तनको खाका नै कोर्नुपर्छ र यसका लागि सुधार आयोग नै आवश्यक पर्छ । राष्ट्रको जीवनमा त्यस्ता परिस्थिति पनि आउँछन्, जसलाई सम्बोधन गर्न परम्परागत सीप, शैली, सोच र संरचनाबाट माथि उठ्नुपर्छ । जब ठूलै राजनीतिक परिवर्तन हुन्छ, राज्यदर्शनमा परिवर्तन आउँछ, ठूला विपद् वा विपद्को सामना गर्नुपर्छ, प्राविधिक परिवर्तन आउँछ वा यस्तै पारिवेशिक कारणले प्रशासन परिवर्तनको माग गर्छ । त्यतिबेला प्रशासन सुधार मात्र गरेर पुग्दैन, ठूलै परिवर्तन गर्नुपर्ने हुन्छ । व्यवस्थापनभित्रबाट गरिएका स–साना सुधारले खासै अर्थ राख्दैनन् । यस्तो अवस्थामा प्रशासनको स्वरूप, संरचना, कार्यभूमिका, कार्यशैली र कार्यसंस्कृति परिवर्तन गर्न बाह्य झड्का दिनुपर्ने हुन्छ । विकसित लोकतन्त्रका सबल प्रशासन यसैगरी माझिँदै आएका छन् ।