एभरेष्ट बैंकद्वारा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड उपलब्ध गराएको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रूपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट बैंकको यो सहयोगले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले यसबाट तिलोत्तमावासीमा सुरक्षित बैंकिङ कारोबार गर्न हौसला मिल्ने भन्दै नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी र एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सयजना भन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।

सम्बन्धित सामग्री

ई–रिक्सा चालकलाई क्यूआर कोड र ज्याकेट वितरण

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित  सिभिल बैंकको शाखाले ई–रिक्सा चालकहरूलाई क्यूआर कोड र ज्याकेट वितरण गरेको छ । वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सय जना ई–रिक्सा चालकलाई क्यूआर कोड र ज्याकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ । चन्द्रनिगाहपुरमा कार्यक्रम गर्दै ई–रिक्सा चालकहरूलाई ज्याकेट र क्यूआर कोड हस्तान्तरण गरिएको बैंकका चन्द्रनिगाहपुर शाखा प्रबन्धक सुरज पौडेलले बताए ।  कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख विश्वराज अर्यालको पनि उपस्थिति थियो । बैंकले यसअघि जुडिबेला माविकी एक छात्रालाई अध्ययनका लागि सहयोग गरेको थियो । बैंकको नियमित कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा बैंकले चन्द्रनिगाहपुरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।