काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३१ करोड २८ लाख ७५ हजारको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बोनस पछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले स्वीकृति गर्नेछ । कम्पनीले हाल कायम संस्थापक तर्फको ६४ दशमलव ५२ प्रतिशत शेयर स्वामित्व ५४ दशमलव ५२ प्रतिशतमा झार्ने र सर्वसाधारण तर्फको हाल कामय ३५ दशमलव ४८ प्रतिशत शेयर स्वामित्व ४५ दशमलव ४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक तर्फबाट एक जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।