लिङ नगरपालिका ९ का दलित महिलाहरुले बामलेटारमा सामूहिक आलु खेती गरेका छन् ।
महिलाले वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती गरेका हुन् ।
४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताउनुभयो ।
नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको बताउदै अध्यक्ष विश्वकर्माले समूह मार्फत श्रममात्रै गरेको बताउनभुयो ।
महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत ब्यवसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
कोभिड १९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताउनुभयो ।
उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार ब्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताउनुभयो । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्ने बिकले बताउनुभयो ।