काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँको सुन्दरीजल आइपुगेको छ । शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटमच थिचेर सुन्दरीजलमा पानी खसाल्नुभएको हो ।
यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।
आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गर्नुभयो ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्यो । केही दिनमा वितरण हुने भयो’ ओलीले भन्नुभयो, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’
उहाँको कटाक्ष नेकपा प्रचण्ड–माधव समूहतिर थियो, जसले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । वैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ ।