एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहलाई पुन: राजा बनाउने कसरत सुरु गरेका छन् । दाहालको यो कसरत आश्चर्यजनक र नयाँ भने होइन । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि सबैभन्दा खुसी हुनेमा पूर्वपञ्चहरू नै थिए । जनयुद्धको सुरुवातसँगै पूर्वपञ्चहरूले संसदीय व्यवस्था अफापसिद्ध भएकाले जनयुद्ध सुरु भएको टिप्पणी गरेका थिए । नेपालमा माओवादी वा राजावादीबाहेक संसद्वादीको राजनीतिक भविष्य छैन भन्ने माओवादीको तत्कालीन प्रचारले राजावादी र माओवादीको भित्री साँठगाँठलाई थप पुष्टि गरेको थियो ।
राजदरबारसँग माओवादीको विशेष सम्बन्ध रहेको कुरो स्वयम् प्रचण्डले एकपटक स्वीकार गरेका छन् । दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्रसँग माओवादीको सम्बन्ध अझ सुदृढ भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस फुटाएर अलग पार्टी खोल्न र मध्यावधि निर्वाचननिमित्त तयार पार्ने रणनीति ज्ञानेन्द्र र माओवादीकै थियो । पछि माओवादीको त्रास देखाएर घोषणा भइसकेको चुनाव हुन दिइएन । र, त्यही चुनाव गराउन नसकेको आरोपमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउन ज्ञानेन्द्रलाई कारण बनेको थियो ।
ज्ञानेन्द्र र माओवादी दुवैको साझा शत्रु लोकतान्त्रिक बहुदलीय संसदीय व्यवस्था हो । उनीहरूबीचको मिलनको मौलिक आधार पनि त्यही हो । दुवैका कार्यशैली र अभीष्ट तानाशाही व्यवस्था स्थापना गर्नु नै हो । दुवैले भारतविरुद्धको चर्को राष्ट्रवादी नारालाई राजनीतिक हतियार बनाएका छन् ।
वर्ष ५ अंक ५३, २०६७, भदौ १४–२०