कोरोना प्रभावित अर्थतन्त्रले राहत महशुस गर्ने गरी मौद्रिक नीति आएपछि सरोकारवाला सबै पक्ष उत्साहित छन् । जेठ १५ मा आएको आव २०७७-७८ को बजेटले निराश निजी क्षेत्र आर्थिक वर्ष सुरु भएको दोस्रो दिन आएको मौद्रिक नीतिले उत्साहित हुनु सकारात्मक छ । नेपाल राष्ट्र बैंकले विगत एक महिनामा जसरी सरोकारवाला सबै क्षेत्रका सुझावहरूलाई ध्यानपूर्वक सुन्यो, त्यसको प्रतिबिम्ब नीतिमा देख्न सकिन्छ । गभर्नर महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीति सन्तुलित र यथार्थपरकमात्र नभइ वर्तमान समस्या समाधानमा कोशेढुंगा सावित हुनसक्ने देखिन्छ । यो नीतिले बैंक तथा वित्तीय संस्था र निजी लगानीकर्ताबीच लामो समयदेखि चल्दै आएको वाकयुद्धको पनि अन्त्य गर्ने देखिन्छ ।