असोज ६, काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौ महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई रू. ४ लाख ९७ हजार २०० आर्थिक सहयोग मंगलवार प्रदान गरेको हो ।
उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्ने बताइएको छ ।
यसका साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।
समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाविरुद्धमा आवाज उठाउनेलगायत महिलाको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको संस्था जोन्ता क्लबलाई बैंकले पुयाएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।