सहकारीको अनुगमन सीए र आरएमार्फत

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाहरूको अनुगमन चार्टर्ड एकाउन्टेन्ट (सीए) र दर्तावाल लेखापरीक्षक (आरए)बाट गर्ने भएको छ । वित्तीय कारोबार गर्ने सहकारीमा जोखिम बढ्दै गएपछि संघीय सरकारले करारमा जनशक्ति लिएर सहकारीको अनुगमनमा कडाइ गर्न लागेको हो । ‘सहकारी अनुगमनका लागि विभागसँग दक्ष र पर्याप्त जनशक्ति छैन,’ संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले भने, ‘करारमा सीए र आरए राखेर भए पनि कडाइ गर्दै छौं ।’ विभागले लेखापरीक्षकको सूची तयार गर्न लागेको र संस्थामा समस्या आएपछि अनुगमनका लागि उनीहरूलाई खटाउने र त्यसका आधारमा कारबाही गरिने उनले बताए । सहकारी अनुगमनका लागि विभागमा सीए र तथ्यांक विश्लेषकको दरबन्दी व्यवस्था गरे पनि पदपूर्ति हुन सकेको छैन । त्यसैले विभागले कामका आधारमा करारमा सीए र आरएहरूलाई परिचालन गर्ने योजना अघि सारेको हो । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बजेट माग गरिएको र नआए विभागले आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेर काम गर्ने बताएको छ । संविधानको व्यवस्था अनुसार सहकारी दर्तादेखि नियमनसम्मको अधिकार स्थानीय तहसम्म पुगेको छ । संस्थाको कार्यक्षेत्रका आधारमा तीनै तहका सरकारले सहकारी दर्तादेखि नियमन गर्न पाउँछन् । सरकारले सहकारीको अभिलेख हस्तान्तरण गरे पनि प्रदेश र स्थानीय तहमा पर्याप्त जनशक्ति नहुँदा सहकारीको नियमन हुन सकेको छैन । ५० करोडभन्दा बढी कारोबार भएका सहकारीको अनुगमन संघीय सरकारले समेत गर्न सक्ने प्रावधान छ । सोही अनुसार प्रदेश र स्थानीय सरकारसँग मिलेर ठूला सहकारीको नियमित अनुगमन गरिने रजिष्ट्रार पण्डितले बताए । सहकारी स्थानीय तहमा हस्तान्तरण भएसँगै संघीय सरकार अन्तर्गत सहकारी नियमन गर्ने ३८ जिल्लाका डिभिजन सहकारी कार्यालय खारेज भइसकेका छन् । मुलुकभर रहेका २९ हजार ८८६ सहकारी संस्थामध्ये संघीय सरकार अन्तर्गत १२५ ओटा मात्र छन् । यसैगरी प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७५९ ओटा छन् । सहकारी क्षेत्रबाट वाणिज्य बैंकपछि दोस्रो ठूलो वित्तीय कारोबार हुँदै आएको छ । हाल देशभरका सहकारीले १० खर्ब रुपैयाँभन्दा बढी परिचालन गरेका छन् । सरकारको प्रभावकारी नियमन नहुँदा कतिपय सहकारीले सर्वसाधारण बचतकर्ताको रकम जथाभावी परिचालन गर्ने गरेका छन् । यस्तै सञ्चालकहरूले नै रकम हिनामिना गर्दा संस्था समस्याग्रस्त बन्ने गरेका छन् । ओरियण्टलदेखि सिभिल सहकारीसम्म आइपुग्दा १०० भन्दा बढी  समस्याग्रस्त भएका छन् भने सर्वसाधारणको अर्बौं निक्षेप फिर्ता हुन सकेको छैन ।

सम्बन्धित सामग्री

सहकारी अनुगमनका लागि छुट्टै शाखा

सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन प्रभावकारी बनाउन छुट्टै अनुगमन शाखा गठन गर्ने भएको छ । सहकारीमार्फत हुने कारोबारमा वृद्धिसँगै जोखिम पनि बढ्दै गएपछि विभागले अनुगमन क्षमता विस्तार गर्न लागेको हो । चार्टर्ड एकाउन्टेन्ट (सीए) को नेतृत्वमा एक जना सीए र दुईजना अधिकृतसहितको तथ्यांक तथा वित्तीय विश्लेषण शाखा गठन गर्न लागेको हो ।