खुमलटारकी सरोज श्रेष्ठ बिहीबार असनको एक पसलमा तिहारका लागि मरमसला किन्नमा व्यस्त थिइन् । ‘यसपालि त मरमसला कति महँगो भाको ? के गर्नु ? नकिनी भएन,’ उनले हाँस्दै भनिन् ।
तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो । तिहारका सामान किन्नेको भीड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेषगरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइ पुज्नका लागि भाइमसला, ओखर तथा ढाका टोपी, दीपावली गर्न मैनबत्ती र झिलिमिली बत्तीको कारोबार हुन्छ ।