काठमाडौं । आयातनिर्यातको तथ्यांक राख्ने निकाय भन्सार विभागले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महीनाको अन्तरराष्ट्रिय व्यापारको तथ्यांक बुधवार सार्वजनिक गरेको छ । विभागका अनुसार यस अवधिमा ४ हजार ८ सय ९९ प्रकारका वस्तु मुलुकभित्र आयात भएका छन् । त्यसका लागि ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी मूल्यको ७३६ प्रकारका वस्तु नेपालबाट निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
पोहोरको तुलनामा यसपालि आयात, निर्यात, व्यापारघाटा सबै घटेका छन् । देशगत रूपमा सबैभन्दा बढी व्यापारघाटा छिमेकी मुलुक भारतसँग छ । दोस्रो बढी घाटा चीनसँग छ ।
नाफातर्फ सबैभन्दा बढी डेनमार्कसँगको व्यापारमा छ । दोस्रो नम्बरमा संयुक्त राज्य अमेरिकासँगको व्यापारमा नाफा भएको देखिन्छ ।