काठमाडौं (अस) । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको छ । अत्याधुनिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर उद्घाटन गरिएको हो ।
अस्पतालका संस्थापक अध्यक्ष वसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रूपमा आइभीएफ सेन्टरको उद्घाटन गरे ।
वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. शर्मा नेतृत्वको टिमले नर्भिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ ।
नर्भिक अस्पतालको आइभीएफ एन्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालमध्येकै आधुनिक एवं सुविधायुक्त रहेको शर्माले बताइन् ।
विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधि प्रयोग गरी स्तरीय सेवा दिइने उनको भनाइ छ ।
नर्भिकको आइभीएफ सेन्टरमा देशकै अत्याधुनिक र धेरै सुविधा उपलब्ध हुनेछ । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराइन्छ । यसले भविष्यमा जन्मिने बच्चामा हुन सक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्ने बताइको छ ।
नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निःसन्तान दम्पतीका लागि उपचार सेवा उपलब्ध हुनेछ ।